४ लाख थान नक्कली स्टीकरसहित राजस्व छल्ने गिरोह पक्राउ
काठमाडौं : ४ लाख थान नक्कली स्टीकरसहित राजस्व छल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देही प्रहरीले अवैध रूपले लैजान लागेको ठूलो परिमाणमा आन्तरिक राजस्व विभागको होलोग्राम स्टीकर र त्यसमा संलग्नहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले गैरकानुनी ढंगबाट लुकाई छिपाई लैजान लागेको ४ लाख थान नक्कली स्टीकरसहित भैरहवाका बिनोद सिंह र भारतीय नागरीक मोहम्मद गद्दी मुसलमान तथा समसुद्धिनलाई नियन्त्रणमा लिएको छ ।
उक्त स्टीकर भारतबाट छपाई गरी धनुषाको मिथिला नगरपालिका वडा नं ८ जमुनीवासामा रहेको सांग्रिला डिष्टिलरीमा लैजान लागेका थिए ।
भारतीय नम्बर प्लेटको युपी ४३ एई १६८२ टाटा इन्डिका कारमा ५० युपि १८० एमएल आन्तरिक राजस्व बिभागका स्टीकरसहित उनीहरुलाई रुपन्देहीको धकधईबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकाले प्रहरीलाई ठूलो आर्थिक प्रलोभन दिए पनि प्रहरीले स्वीकार नगरेपछि उनीहरू फन्दामा परेको बताईएको छ ।
पक्राउ परेका सिंह र भारतीय नागरीक मोहम्मद गद्दी मुसलमानको बयानका आधारमा प्रहरीले उक्त नक्कली स्टीकर प्रयोग गर्ने कार्यमा संम्लग्न डिष्टिलरीका व्यवस्थापक भवानी सुवेदी र कामेश्वर महतोलाई धनुषाबाट नियन्त्रणमा लिएको छ । त्यस्तै उद्योगी कुशेश्वर शाह भने फरार छन् ।
आन्तरिक राजस्व कार्यालयका एक अधिकृतका अनुसार सबैभन्दा कम राजस्व तिर्नुपर्ने मदिरामा उक्त स्टीकर प्रयोग गरे पनि १ करोड २० लाख रूपैया बरावरको राजस्व गुम्ने देखिन्छ ।