एमाले–माओवादी एकताका लागि राजनीतिक प्रतिवेदन तयार
काठमाडौं : एमाले–माओवादी पार्टीबीच हुने एकताका लागि राजनीतिक प्रतिवेदन तयार पारिएको छ ।
वाम एकताका लागि अन्तरिम राजनीतिक प्रतिवेदन तयार गर्न गठित उपसमितिले प्रारम्भिक मस्यौदा तयार गरी मूल समितिलाई बुझाएको हो ।
कार्यदलले एमालेले अँगाल्दै आएको जबज र माओवादी केन्द्रले अँगाल्दै आएको माओवादको सिद्धान्तमा सहमत भएका विषयहरु बुँदागत रुपमै टिपेर संयुक्त मस्यौदा तयार गर्न चार सदस्यीय समिति समेत गठन गरेको थियो । मस्यौदा तयार गर्न गठित नारायणकाजी श्रेष्ठ, भीम रावल, प्रदिप ज्ञवाली रहेको समितिले मूल समितिलाई प्रारम्भिक मस्यौदा बुझाएको हो ।
कार्यदलको आइतबार बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने बताइएको छ । एमाले मुख्यालय धुम्बाराहीमा बसेको कार्यदलको बैठकमा उपसमितिले प्रारम्भिक प्रतिवेदन कार्यदललाई बुझाएसँग अब एकताको प्रक्रियाले तीव्रता पाउने आकलन गरिएको छ ।