Logo
५ आश्विन २०८१, शनिबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतिनिधिलाई विप्लव समूहको धम्की, राजीनामा नदिए कडा कारबाही गर्ने चेतावनी

काठमाडौं : जनप्रतिनिधिलाई राजीनामा गर्न विप्लव समूहले दबाब दिन थालेको छ ।

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय रसुवाका स्थानीय तहका जनप्रतिनिधिको राजीनामा माग गरेको हो ।

जिल्लाका पाँचवटै गाउँपालिकाका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजिनामा मागेको हो । जनप्रतिनिधिलाई पठाइएको पत्रमा धम्की पनि दिइएको छ । पत्रमा लेखिएको छ, ’राजीनामा नदिए वर्ग सङ्घर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वम् हुनुपर्ने कुरासमेत शालिनतापूर्वक जानकारी गराइन्छ ।’

जिल्ला जनपरिषद् रसुवाका प्रमुख विशाल भुसालले हस्ताक्षर गरेको पत्रमा पाँचवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई पत्र पठाएर राजीनामा दिन भनिएको छ । निर्वाचित जनप्रतिनिधिको राजीनामा माग गर्दै रसुवामा रहेको सबै पाँच गाँउपालिका र त्यसमा रहेका सबै वडाका वडाध्यक्षलाई बुधबारसम्म पत्र बुझाइएको नेपाल कम्युनिष्ट पार्टी रसुवाका जिल्ला इन्चार्ज रजमान तामाङले बताए ।

उनले भने, ’दलाल, पुँजीवाद र सामाजिक पुँजीवादको खेती गर्न दलाल संसदीय व्यवस्था फँसीबादी तरिकाले राज्यशक्तिको दुरुपयोग गरी जनतामाथि शासन लाद्ने गतिविधि गरिरहेको हुदाँ हामीले यो पत्र लेख्न बाध्य भएका हौँ ।’ पत्रमा बल प्रयोग गरेर निर्वाचन गरिएको र त्यसबाट निर्वाचित भएका जनप्रतिनिधि अमान्य हुने भन्दै परिषद्ले स्थानीयतहका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षको राजीनामाको माग गरेको लेखिएको छ ।

पत्रमा लेखिएको छ, ’संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो पदीय ओहदाबाट राजीनामा दिई जनपरिषद्लाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गर्दछौँ ।’

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्