मुख्यमन्त्रीहरु सँग प्रधानमन्त्रीले वैठक गर्दै, प्रदेश सरकारलाई शक्तिशाली बनाउने विषयमा छलफल
काठमाडौं : प्रदेश सरकार संचालनमा सहजता ल्याउन र प्रदेश सरकारलाई शाक्तिशाली बानउन प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग बुधवार छलफल गर्दैछन् । प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रदेशले अनेक समस्या झेलेको विषय बाहिर आएपछि प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाएका थिए ।प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको निम्तोमा प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारी काठमाडौं आइपुगेको र बुधवार बिहान ११ बजे छलफल हुने जानकारी दिए ।
प्रधानमन्त्रीले उनीहरुसँग सामूहिकरुपमा छलफल गरी प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्थालगायत विषयमा जानकारी लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले बनाउनुपर्ने कानूनबारेसमेत छलफल हुने बताइएको छ ।
प्रदेशसभा र त्यहाँको सरकार सञ्चालनमा कर्मचारी अभावसमेत उत्तिकै देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ ।
सातै प्रदेशमा प्रदेश सरकार गठन भइसके पनि स्रोत साधन र ऐन कानूनको अभावमा रुमल्लिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय मन्त्रीलाई दिने गाडीसमेत छैन । यही समस्याका बीच बुधबार हुन लागेको छलफलले जारी अन्योलता हल गर्ने विश्वास गरिएको छ ।