Logo
४ आश्विन २०८१, शुक्रबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने -ठेक्कापट्टामा कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस छैन

लहान : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले अहिलेका सरकार बिगतको जस्तो कमजोर र अस्थिर नभएको बताउँदै भने, “नेपालकै इतिहासमा पहिलोपटक हामीलाई बलियो हात दिएर जनताले सिंहदरबार पठाएका छन्, त्यसैले अब हामीले फटहा, कमिसनखोर र बेथिति बनाउनेलाई जेल हाल्न पछि पर्दैनौ,”

पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाडिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष प्रचण्डले भने– “सुशासनबिना विकासको कल्पना गर्न सकिदैन्, सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।” राजनीतिक क्रान्ति पुरा भइसकेको बताउँदै उनले अब हामीले विकासको नयाँ क्रान्ति गर्दै पाँचदेखि १० वर्षभित्रमा नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने धारणा व्यक्त गरे ।

चुनाबका बेला वामगठबन्धले साझा घोषणापत्रमार्फत जनतालाई सुशासन, स्थायीत्व, विकास र समृद्धिको आश्वासन बाँडेको उल्लेख गर्दै उहाँले जनताले विश्वास र भरोसा गरेर वामगठबन्धको झन्डै दुई तिहाईको यो सरकारले अब जनताको त्यो इच्छा र भरोसा पुरा गर्ने दाबी समेत गरे । अध्यक्ष दाहालले सिँंचाइ र सडक पूर्वाधारको विकास नभएसम्म मधेशमा हरित क्रान्ति केबल हावाको क्रान्ति मात्र हुने टिप्पणी गर्दै सिँचाइ र सडक पूर्वाधारको विकासमा ठोस योजनाका साथ सरकारले काम गर्ने बताए ।

मधेसकै लाइफ लाइनका रुपमा रहेका हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढेको चर्चा गर्दै उनले अब कुनै पनि बाहानामा हुलाकी राजमार्गको काम नरोकिने बताए । अध्यक्ष दाहालले मधेश केन्द्रित दलरुसँग निरन्तर छलफल गरी संविधान संशोधनको नजिक पुगेको बताउँदै छिट्टै संविधान संशोधन भएर यसप्रतिको मधेशी जनताको असन्तुष्टि अन्त्य हुने विचार व्यक्त गरे ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्