प्रदेश ५ को काँग्रेस संसदीय दलको नेतामा पोखरेल निर्विरोध
बुटवल : प्रदेश नं ५ को नेपाली काँग्रेस संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन हुनुभएको छ ।ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए ।
आज अपराह्न २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका पोखरेलको नाममा सहमति जुटेपछि उहाँ संसदीय दलको नेता चयन हुनुभएको हो ।
संसदीय दलको नेताका लागि यसअघि पोखरेलसँगै पाल्पा काँग्रेसका सभापति वीरबहादुर राना, कपिलवस्तुका वीरेन्द्र कनौडिया, रुपन्देहीका फकरुद्दीन खाँ र दाङका डिल्लीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
संसदीय दलको नेता चयनपछि उहाँले सरकारले गर्ने काम गुण र दोषका आधारमा समर्थन की विरोध गर्ने भन्ने तय हुने बताउनुभयो । (रासस)