Logo
४ आश्विन २०८१, शुक्रबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महरा निर्विरोध निर्वाचित, आइतबार प्रधानमन्त्रीले विश्वासको मत सावित गर्ने

काठमाडौँ :  नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएपछि शनिबार संसद भवनमा सञ्चारकर्मीलाई अभिवादन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा । तस्वीर: रासस

सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको थियो । बैठकमा नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव गर्नुभएको थियो भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गर्नुभयो ।

सो बैठकमा प्रस्तावक तथा समर्थकले लामो संसदीय अनुभवको गरिमालाई कायम राख्दै संविधान कार्यान्वयनका लागि विभिन्न कानून तयार गर्नुपर्ने र मुलुकको समृद्धिका लागि संसद्लाई एक ढिक्का बनाएर अघि बढाउन महराको नेतृत्वले काम गर्नसक्ने अपेक्षा गर्नुभयो ।

सो प्रस्तावको समर्थनमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले समर्थन गर्नुभयो । उहाँले सबै पक्षलाई समेटेर र आवश्यक पर्दा सरकारलाई सहयोग, सचेत र निर्देशन गर्नेगरी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीको विश्वासको मत आइतबार

प्रतिनिधिसभाको अर्को बैठक भोलि फागुन २७ गते दिनको १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्