Logo
४ आश्विन २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिनभित्रै उपेन्द्र यादवको नेतृत्वमा फोरम सरकारमा सहभागी हुन्छ : राउत

काठमाडौं : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक/दुई दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विश्वास दिलाएका छन् । मुख्यमन्त्री राउतले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुने जानकारी दिए । उनले भने,‘हो, उपेन्द्रजीकै नेतृत्वमा फोरम सरकारमा सहभागी हुन्छ, हिजो पार्टीले सरकारमा जाने निर्णय समेत गरिसकेको छ ।’

उनले भने, ‘संविधान संशोधनको लागि विभिन्न धारा/उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुईदिनभित्रै सरकारमा सहभागी हुन्छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  राउतले प्रदेश नम्बर २ लाई समृद्ध बनाउनको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राउतले भने,‘मुख्यमन्त्रीको रुपमा मैले सपथ लिएकै दिन केही प्रतिबद्धता जनाएको थिएँ, सोही अनुसार म जनताको सेवामा उत्रिनेछु, मेरो पहिलो प्राथमिकता भनेको नै सुशासन कायम गर्दै प्रदेशलाई व्यापक विकासको माध्यमबाट समृद्ध बनाउनु हो, यसको लागि म सँग सक्षम टिम छ।’

उनले सुशासन भन्ने वित्तिकै ढिलासुस्तीको अन्त्य, अनियमितता रोक्नु र भ्रष्टाचार नियन्त्रण गर्नु भएकोले त्यतातर्फ आफ्नो सम्पूर्ण ध्यान जाने पनि सुनाए ।  अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र बाटोघाटोको व्यापक समस्या रहेको उनको गुनासो थियो ।

उनले आफूहरु जनताको चाहना अनुसार नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । २ नम्बर प्रदेशमा कृषिको पनि धेरै ठूलो सम्भावना भएको उल्लेख गर्दै उनले थपे,‘कृषिको व्यापक सम्भावना छ, जनताले मल, खाद्य र वीउ–विजन समयमै पाएका छैनन, कुनै जमाना यस्तो थियो, हामी खाद्यान्न विदेशतिर निर्यात गर्दथ्यौं, तर अहिलेको अवस्था आयात गर्नुपर्नेमा छ ।’

उनले अब कृषि उत्पादनमा बढोत्तरी गर्ने आफूहरुको योजना रहेको सुनाए ।  विकास र समृद्धि हाँसिल गर्ने अभियानमा आफूहरु जुटेको उल्लेख गर्दै अहिले स्रोत र साधानको अभाव रहेको गुनासो पोखे । मुख्यमन्त्री राउतले आफूहरु अहिले संरचना निर्माणमा केन्द्रित रहेको पनि सुनाए ।

उनले भने,‘कार्यालयहरुको अभाव छ, हामी शुन्य अवस्थामा छौं, कार्यालय र मन्त्रालयको स्थापना हुँदैछ, कहाँबाट काम थालनी गर्ने हो ? बस्ने ठाउँ पनि छैन, बस्ने ठाउँहरु नभएर जनताको काम गर्न सकिएन्, तर यो समस्या नौलो होईन, यी र यस्ता खाले चूनौतिहरु पार लगाउँदै हामी प्रदेश नम्बर २ लाई समृद्ध बनाउँछौं ।’

उनले भ्रष्टाचारीलाई कारबाही गर्ने पनि कडा चेतावनी दिए । यद्धपी अहिले ऐन तथा नियम बनाउने काम भैरहेकोले यो बनेसँगै आफूहरु कडा एक्सनमा उत्रिने उनको भनाई थियो ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्