संघीय संसद्को आज पहिलो बैठक बस्दै, अन्तरिम कार्यविधि ०७४ पारित गरिने
काठमाडौंः संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुदैछ । नव निर्वाचित जन प्रतिनिधिहरुको संघीय संसदको पहिलो बैठक आज संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्नेछ ।
संघीय संसद्को निर्वाचन सम्पन्न भएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो । बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पहिलो बैठकले संघीय संसद्का पदाधिकारी चयनको प्रक्रिया अघि बढाउनेछ ।
प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिरमा नै सम्पन्न भए पनि राष्ट्रियसभा सदस्य निर्वाचन माघमा मात्र सम्पन्न भएको थियो । फागुन ३ मा नयाँ प्रधानमन्त्री चयन भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद अधिवेशन आह्वान गरिएको थियो ।
चालू अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि पदाधिकारी चयनसम्मका महत्वपूर्ण कार्यसूची छन् । अपराह्न बस्ने बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बस्नेछ ।
बैठकमा ज्येष्ठ सदस्यबाट राष्ट्रपतिले अधिवेशन आह्वानका लागि गरेको पत्राचार पढेर सुनाइनेछ । यस्तै, राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री चयन तथा मन्त्रीको कार्यविभाजन सम्वन्धी पत्र पनि सदनको जानकारीका लागि वाचन गरिनेछ ।
पहिलो बैठकले संसद्को कार्यसञ्चालनका लागि अन्तरिम कार्यविधि ०७४ पारित गर्नेछ । स्थायी नियमावली नबनेसम्म अन्तरिम कार्यविधिबाटै बैठक सञ्चालन हुनेछन् ।
यस्तै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डल पनि आजै चयन गर्ने कार्यसूची तय भएको छ । बैठकमा प्रतिनिधिसभाको अन्तरिम कार्यविधि ०७४ को दफा ६(१) अनुसार प्रतिनिधिसभाका सभामुख चयनको मिति तोकिनेछ ।