Logo
४ आश्विन २०८१, शुक्रबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सांसदलाई संसदीय अभ्यासका लागि नेम्वाङको प्रशिक्षण

काठमाडौँ : “संसद्मा बोल्दा सभामुखबाहेक अरुलाई सम्बोधन गर्नु पर्दैन ।” संसदीय प्रणाली र अभ्यासमा खारिएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नयाँ सांसदलाई सचेत गराउँदै भन्नुभयो, “कतिपय सांसदले प्रधानमन्त्री, पार्टीका अध्यक्ष, मन्त्रीगण, दर्शक र पत्रकारसमेतलाई सम्बोधन गरेको विगतका अनुभवमा देखिन्छ, जुन नियम विपरीत हो ।”

प्रतिनिधिसभा र राष्ट्रियसभाका वाम गठबन्धनका सदस्यहरुको प्रशिक्षणमूलक संयुक्त बैठकमा एमाले नेता एवं पूर्वसभामुख नेम्वाङले कानूनी र प्राविधिक विषयलाई मसिनो रुपमा केलाउँदै संसद्मा कसरी प्रभावकारी प्रस्तुत हुने भन्नेमा दिनुभएको मन्तव्य सांसदहरुका लागि एक प्रकारको सूत्र (टिप्स) सावित भयो । शून्य र ढ्यापढ्यापे समय के हो, यसको उपयोग कसरी गर्ने भन्नेदेखि नेपालको संविधान, कानून, स्थापित संसदीय अभ्यास र परम्परालाई प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको सो बैठकमा उहाँले स्पष्ट पार्नुभएको थियो ।

संघीय संसद्मा रहेका वाम गठबन्धनका २१४ मध्ये अधिकांश नयाँ सदस्य भएकाले गठबन्धनले शपथ ग्रहण हुने अघिल्लो दिन बैठकको आयोजना गरेको हो । पार्टी एकताको आधार तय गरिसकेको सो गठबन्धनले सांसदहरुलाई सरकार र सदनको प्रभावकारिता र मुलुकको समृद्धिमा केन्द्रित हुन निर्देशित गरेको हो । संविधानसभामा अध्यक्षसमेत रहनुभएका कानूनका जानकार नेम्वाङले सदनको नियममा नभए पनि माननीय सदस्यहरुले लागेको विषयमा एक मिनेटमा बोल्ने परम्परालाई शून्य समय भनिएको र विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा विपक्षी नेपाली काँग्रेसले सदनका कार्यसूचीमा प्रवेश गर्नुअघि ढ्यापढ्याप गरेर समय लिई बोल्ने परम्परालाई ढ्यापढ्यापे भनिएको उल्लेख गर्नुभयो ।

सांसदहरुलाई बैठककक्षमा रहँदा पत्रपत्रिका नपढ्न, मोबाइल प्रयोग नगर्न तथा विचार प्रस्तुत वा नियमापत्ति गर्दा व्यक्तिगत ठिप्पणी नगरी अध्ययन र तर्कका आधारमा शिष्ट भाषामा प्रभावकारिता देखाउन नेम्वाङले सुझाव दिनुभयो ।सदनमा सदस्यहरु प्रायः उपस्थित हुनुपर्ने, प्रधानमन्त्रीको सम्बोधनका दिन सबै मन्त्री उपस्थित हुनुपर्ने, सबैको बोली व्यवहार र हाउभाउसमेत मर्यादित हुनुपर्र्नेमा जोड दिँदै उहाँले खाली कुर्सी वा माननीयले हाई काढेर बसेको पाइएमा सञ्चारमाध्यमले तस्वीर खिचेर बाहिर लानेतर्फ पनि सतर्क हुनुपर्ने बताउनुभयो । विकसित मुलुकमा भने हाइ काढेका भरमा समाचार नबन्ने भएकाले त्यसमा पत्रकारले पनि विचार पु¥याउनुपर्ने उहाँले तर्क थियो ।

“कहिलेकाहीँ लगातार आठ घण्टासम्म बैठक हुनसक्छ, त्यसरी काम गरेको नदेख्ने अनि हाई गरेको मात्र देखाइदिने गर्दा संसदीय व्यवस्थालाई अनावश्यक विवादमा लान्छ । यस्तोमा पत्रकारले पनि मनन गर्नुपर्छ ।” वाम गठबन्धनले निर्वाचनमा गरेको वाचाअनुसार अबको संसद् र सरकारले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “संसद्को काम सरकारलाई अंकुश लगाउने होइन, प्रभावकारी बनाउने हो । संसद् प्रभावकारी नभएमा सरकारमा पनि प्रभावकारी हुँदैन । यसमा विशेष हेक्का राख्नुहोला । हामीलाई जनताले निगरानी गरिरहेका हुनेछन् ।”

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्