गृहमन्त्रीद्वारा राष्ट्रिय अनुसन्धान विभागको निरीक्षण
- नागरिक टाइम्स/संवाददाता
१९ फाल्गुन २०७४, शनिबार ००:००
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु-याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताउनुभएको छ ।
विभागको आज निरीक्षण गर्नुहुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा एवं सुदृढीकरण गर्ने मूल जिम्मेवारी पनि निर्वाह गर्न अनुरोध गर्नुभयो ।
विभागबाट प्रवाह हुने सूचना प्रणालीलाई थप चुस्त र दुरुस्त बनाउन कार्ययोजना निर्माण गरी सामूहिक रुपमा अघि बढ्न आवश्यक रहेकामा गृहमन्त्री थापाले जोड दिनुभएको विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
विभागका कर्मचारीलाई उच्च मनोबलका साथ कामप्रति उत्पे्ररित गर्न तालीम, सीप र ज्ञान प्रदान गरिनुपर्ने, विभागलाई पुनःसंगठित र साधन सम्पन्न बनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाको पनि उपस्थिति थियो । सो अवसरमा विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले हालसम्म सम्पादन भइरहेका काम कारबाही, भावी योजनाका विषयमा जानकारी गराउनुभयो ।