Logo
४ आश्विन २०८१, शुक्रबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशांकको घरमा ‘लञ्च’ भेला : देउवालाई संसदीय दलमा दाबी छाड्न आग्रह

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवालाई रोक्न रामचन्द्र पौडल निकट नेताहरु सक्रिय बनेका छन् । कांग्रेस महामन्त्री संशाक कोइरालाको निवासमा मंगलबार भएको पौडेल समूहको छलफलमा सभापति देउवालाई अर्को व्यक्तिलाई संसदीय दलको नेता स्वीकार गर्न आग्रह गर्ने निर्णय भएको छ । महामन्त्री सशांकले बुधबार होलीको अवसरमा भन्दै कांग्रेसका सबै पदाधिकारी र सांसदहरुलाई दीवाभोजमा डाकेका छन् ।

देउवाले त्यागे महामन्त्री संशाकलाई संसदीय दलको नेतामा अघि बढाउने तर उनले संसदीय दलको नेता बन्ने अडान लिएमा प्रतिष्पर्धामा प्रकाशमान सिंहलाई उभ्याउने सहमति पौडेल पक्षधरले गरेका छन् । बैठकमा कोइराला, मीनेन्द्र रिजाल, रामशरण महत, नवीन्द्रराज जोशीलगायत सहभागी थिए । कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्षका २३, समानुपातिकका ४० र राष्ट्रियसभामा १३ सांसद छन्।

पछिल्लो समय नेतृत्वविरुद्ध अभिव्यक्ति दिइरहेका डा.कोइराला चुनाबमा नगइ संसदीय दलको सर्वसम्मत नेता हुने प्रयासमा छन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा तथा नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने स्थिति देखिएकाे छ। महामन्त्री डा.काेइराला भने चुनाब नलडी सर्वसम्मत हुन प्रयास गर्ने र अन्तिममा चुनाब भए सिंहको पक्ष लिने स्राेतहरू बताउँछन्। ‘सकेसम्म अाफैँ सर्वसम्मत हुनका लागि नेता कार्यकर्ताकाे समर्थन जुटाउने र त्यस्ताे स्थिति नबनेमा प्रकाशमान सिंहलाइ सहयाेग गरेर जाने भन्ने रणनीति बनाउन बैठक बाेलाउनु भएकाे हुनसक्छ’, ती नेताले भने।

काँग्रेस संसदीय दलको नेता चयनकाे निर्वाचन कार्यतालिका मंगलबार सार्वजनिक गरिएकाे थियाे। साेअनुसार १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने कार्यतालिका छ। गत मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसले पराजय व्यहोरेको थियो। त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै सभापति देउवाको आलोचना हुँदै आएको छ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्