Logo
४ आश्विन २०८१, शुक्रबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लिखित सम्झौता नभएसम्म सहभागी हुँदैनौँ, राजपासँग प्रदेश २ मा मात्रै सहकार्य’

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनमा एमाले– माओवादी केन्द्रसँग लिखित सहमति नभएसम्म सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । एमालेसँग संविधान संशोधनमा मूर्त सहमति नभएसम्म सरकारमा नजाने फोरमले प्रष्ट पारेको छ । र, संविधान संशोधनमा ठोस जवाफ एमालेले नदिएको उनको भनाइ हो ।

संविधान संशोधन र सरकारमा सहभागी हुनेबारेमा एमाले–माओवादी केन्द्रसँग पटकपटक छलफल गर्दै आएको फोरमले संविधान संशोधनका विषयमा एमालेको ठोस जवाफ नआएको प्रष्ट पारेको छ । “लिखित सहमति नभएसम्म यसै भन्न सकिँदैन,” फोरम अध्यक्ष उपेन्द्र यादवले भने, “एमाले नेतृत्वको सरकारमा जाने भनेर हामीले निर्णय गरिसकेका छैनौँ ।”

फोरमले राजपासँगको सहकार्य प्रदेश नम्बर दुईमा मात्रै भएको जिकिर गरेको छ । “राजपासँग दुई नम्बर प्रदेशमा मात्रै सहकार्य हुन्छ,” यादवको भनाइ छ, “केन्द्र र प्रदेश सरकार फरक हो नि !” उनले दुई नम्बर प्रदेशबाहेक राजपासँग अन्यत्र सहकार्य गर्ने कुनै समझदारी नभएको प्रष्ट्याए । एक प्रसंगमा उनले दुई नम्बर प्रदेशमा एमाले प्रतिपक्षमा बस्ने प्रष्ट पारे । “दुई नम्बर प्रदेशमा एमाले सरकारमा जाँदैन,” उनको भनाइ थियो “सहमति भयो भने केन्द्रमा हामी सहभागी हुन्छौँ ।”

यता एमालेले भने उपयुक्त समयमा संविधान संशोधन गर्न आफू तयार भएको बताएको छ । एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले फोरमसँग सहमति हुने विश्वास व्यक्त गरे । बुधबारसम्म सम्झौतामा हस्ताक्षर भएर फोरम सरकारमा सहभागि हुने उनको विश्वास थियो । “हामी छलफलमा छौँ, संविधान संशोधनमा सहमति गर्न एमाले तयार छ । उहाँहरू पनि सरकारमा आउनुहुन्छ,” उनको आशय थियो ।

त्यस्तै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले संविधान संशोधन, विकास निर्माणलगायतका विषयमा एमाले सकारात्मक रहेको बताए । “मंगलबार उहाँहरूसँगको कुराकानी त्यसैमा केन्द्रित थियो । उहाँहरूको जिज्ञासा संविधान संशोधन र साझा चुनावी घोषणापत्र कार्यान्वयनमा केन्द्रित थियो । त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । विकासमा सबैसँग सहकार्य गर्ने प्रष्ट मान्यता छ,” उनले भने ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्