निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता : फ्युजन एकेडेमीलाई उपाधि
काठमाडौँ : मण्डिखाटार स्थित नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) र विद्यालय सरोकार समाज बुढानिलकण्ठको संयुक्त आयोजनामा भएको ‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ को उपाधि बुढानिलकण्ठ नगरपालिकामा रहेको फ्युजन एकेडेमीले जितेको छ । नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) को प्रांगनमा शुक्रबार सम्पन्न प्रतियोगितामा बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमी (बि.एम.सी.ए.) दोश्रो भएको छ । धापासीमा रहेको ओडिसी इन्टरनेशनल तेश्रो, कपनमा रहेको शारदा एकेडेमी चौथो र चुनिखेलमा रहेको शिशु मिलन हाई स्कुल पाचौ भएको छ ।
उत्कृष्ट भेषभुषा विधामा साम्तेन मेमोरिल एजुकेशनल एकेडेमी, उत्कृष्ट निर्देशक विधामा फ्युजन एकेडेमी, उत्कृष्ट नृत्यकार विधामा छात्र सुजन तामाङ्ग, उत्कृष्ट नृत्यकार छात्रा विधामा हिमालयन ह्याप्पी चाइल्डलाई पुरस्कृत गरिएको थियो । शुक्रबार नै विशेष समापन कार्यक्रमका विच विजयी विद्यार्थी तथा टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त ‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ समापन कार्यक्रममा प्रथम नेपाली नायिका भुवन चन्द, रेडियोकर्मी कृष्ण ताम्राकार, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, विभिन्न स्कुलका प्रिन्सिपलहरु, शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु, प्रतियोगितामा सहभागि भएका विद्यालयका प्रतिनिधिहरु, विद्यार्थी, अभिावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले विजयी विद्यार्थीहरुलाई वधाई दिएका थिए । नगरपालिकाका सबै छोरी–बुहारीहरुले समेत नृत्यको प्रशिक्षण लिनु पर्ने कुरामा उनले जोड दिएका थिए । यस्तै नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले विजयी विद्यार्थीहरुलाई वधाई दिएका थिए भने संस्थालगत विद्यालयहरुले शैक्षिक उन्नयनमा दिएको योगदान बारे स्पष्ट पारेका थिए । प्रतियोगितालाई बुढानिलकण्ठ नगरपालिकाले विशेष सहयोग प्रदान गरेको थियो भने प्रतियोगितामा २६ विद्यालयहरु सहभागि भएका थिए ।