Logo
४ आश्विन २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थुनामा राख्न आदेशपछि चौधरीले भने- ‘अदालतले सांसदलाई अविश्वास गर्‍यो’

कैलाली : अदालतसामू आत्मसमर्पण गरेका टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । फरार भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । उनको १६ गते पेशी तोकेको छ । उनीमाथि कर्तव्य ज्यान, डाँका, चोरी, ज्यान मार्ने उद्योग गरेको आरोपमा ८ जनाले किटानी जाहेरी दिएका थिए ।

सोमबार जिल्ला अदालतमा बहस भएको थियो। बहसमा चौधरीको तर्फबाट अधिवक्ता गंगाराम पाध्य, गजेन्द्र केसी र मिलनकुमार राईले बहस गरेका थिए । वादीको तर्फबाट सरकारी वकिल प्रकाशबहादुरर भण्डारी, भानदेव जोशी र नवीन भट्टले बहस गरकेा थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवब्ता राजेन्द्र बहादुर साउदले बहस गरेका थिए । चौधरीका वकिलहरुले जनमत पाएको भन्दै तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । तर, अदालतले जनमतको सम्मान गर्ने तर, जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।

टीकापुरमा गत २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक घटना संलग्न रहेको भन्दै ५६ जना विरुद्ध मुद्दा परेको थियो। त्यो मध्ये २५ जना हाल पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा छन् । थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। सो घटनामा अभियुक्त चौधरीलाई दोषी देखाइएको छ ।

त्यस घटना यता उनी फरार अवस्थामा थिए । कैलाली १ बाट अत्यधिक मत ल्याएर प्रतिनिधिसभा सदस्य चयन भए पनि उनलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र दिएको थिएन। उनले प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायरको प्रयास समेत गरेका थिए । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिएका थिए ।

अदालतले सांसदलाई अविश्वास गर्‍यो : रेशम चौधरी
जेल जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले अदालतले सांसदलाई अविश्वास गरे जस्तो देखिएको प्रतिक्रिया दिएका छन् । ‘अदालतले जुन फैसला गर्‍यो, त्यसलाई पूर्वाग्रह त मान्दिनँ । तर, जनताबाट विजयी भइसकेको सांसदलाई अविश्वास गरे जस्तो देखियो’ उनले भने, ‘म भागिहाल्ने थिएन । भाग्ने भए म यहाँ आउने थिइनँ ।’ फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । आफू कानुनको पूर्णसम्मान गरेर अदालतसमक्ष आएको र आगामी दिनमा न्याय दिने विश्वास रहेको बताए ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्