Logo
४ आश्विन २०८१, शुक्रबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा थपिए चार मन्त्री : बादल गृह, ईश्‍वर रक्षा, युवराज अर्थ र मातृका उद्योग-वाणिज्य

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रका दुई-दुई जना मन्त्री थप गरे । फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए । विस्तारित मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीमा एमालेकै डा. युवराज खतिवडा, गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमा माओवादीकै मातृका यादवलाई शपथ खुवाइन् । एमालेमा अर्थ र माओवादी केन्द्रमा गृह मन्त्रालयको तानातान बढी भएपछि चार जनामात्रै मन्त्री थपिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुमध्ये खतिवडामात्रै सरकारमा नयाँ अनुहार हुन् । राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ। तर, तत्काललाई मन्त्री बन्न कानुनले रोक्दैन। मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद (प्रतिनिधि वा राष्ट्रिय सभा)को सदस्य भइसक्नुपर्छ ।

प्रधानमन्त्री ओलीपछि सरकारको दोस्रो वरियतामा रक्षामन्त्री ईश्वर पोखरेल रहने
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् । अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री बनेका हुन् । २०५१ सालमा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल पनि प्रधानमन्त्रीपछिको दोस्रो वरियतासहित रक्षा र परराष्ट्रमन्त्री भएका थिए । रक्षामन्त्री अलग्गै रहने प्रणाली एमालेले २०५१ बाट सुरु गरेको हो । त्यसअघि प्रधानमन्त्रीनै रक्षामन्त्री रहने प्रचलन थियो ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्