Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुराकीकालागि विभिन्न पेशाका २ सयभन्दा बढी युवाको समुह एकसाथ परिचालन

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले अपराध नियन्त्रणका लागि प्रहरीले पेशाकर्मी, मजदुर तथा विद्यार्थीलाई सहयोगी सुराकीका रुपमा परिचालन गर्ने भएको छ । प्रहरीले डाक्टर, ईन्जिनियर, निजामती कर्मचारी, ट्याक्सी चालकदेखि विद्यार्थीबाट सहयोग लिने भएको हो । प्रहरीले अपराध नियन्त्रण तथा रोकथामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई आफ्नो सञ्जालमा जोड्न चाहेको हो ।

प्रहरी परिसर काठमाडौंले २ सयभन्दा बढी विभिन्न पेशामा आवद्ध युवाको समुहलाई एकसाथ परिचालनको तयारी थालेको हो । ‘विभिन्न सेवा तथा व्यापार व्यवसायमा आवद्ध नागरिकहरुसँग सहकार्यका लागि सम्झौता नै गरेर अगाडि बढने योजनामा छौं,’ परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले भने । उनका अनुसार यो समुहसँगको सहकार्य अति गोप्य राखिनेछ । अपराध र अपराधीका विषयमा आउने जानकारीदेखि प्रहरीकै आचरणका विषयमा समेत यो समुहले परिसर प्रमुखलाई सूचना उपलब्ध गराउने छ ।

काठमाडौं प्रहरीले प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयसँग अनुमति लिएर नमुना परियोजनाकै रुपमा यो अभियानलाई अघि सारेको हो । काठमाडौं उपत्यकाको बढदो जनघनत्व र उकालो लागेको अपराधको पारो रोक्न यो अभियानमा गृह मन्त्रालयले समेत समन्वयन गरिरहेको छ । उपत्यकामा विभिन्न पेशामा रहेर सामाजिक कार्यमा संलग्न ब्यक्तिहरुको यो समुहसँग प्रहरीले लिखित सम्झौता नै गरेर अभियान अघि बढाउने भएको छ ।

काठमाडौं प्रहरीमा आईतबारसम्म २ हजार २९७ मुद्दा अनुसन्धानमा रहेका छन् । यस्तै हालसम्म विभिन्न मुद्दाका ३ सय ७२ फरार प्रतिवादीको खोजी भै रहेको छ । परिसरमा आईतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी पोखरेलले विभिन्न मुद्दामा फरार रहेका आरोपी काठमाडौंमै अन्य अपराधमा संलग्न रहेको बताउदै उनीहरुलाई पक्राउ गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए ।

जघन्य र आर्थिक अपराधमा आरोपी पक्राउ नपर्दा सोही व्यक्ति काठमाडौं उपत्यकासहित देशभर अन्य अपराधमा संलग्न रहने भएकाले प्रहरीले पक्राउ अभियानलाई बिशेष प्राथमिकतामा राखेको उनले बताए । प्रहरीले फरार अपराधी खोज्न बेग्लै टोली बनाएर परिचालन गरेको छ ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्