Logo
३१ भाद्र २०८१, सोमबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजश्व हिनाभिना आरोपमा वीरगञ्जका चार कर्मचारीलाई स्पष्टीकरण

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले अनियमितताको आशंकामा ४ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले राजश्व शाखाबाट प्राप्त हुने नियम अनुसारको राजश्व दाखिला नगरेकोले स्पष्टीकरण सोधिएको महानगरपालिकाले जनाएको छ । महानगरमा जनप्रतिनीधि निर्वाचित भएर आएपछि पहिलोपटक अनियमितता आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो । नगर प्रमुख विजयकुमार सरावगीको आदेशमा कार्यकारी अधिकृतले राजस्व शाखाका प्रमुख अधिकृत मनोज कर्ण, राजश्व शाखाकै कर्मचारीहरु नवराज थापा, पवन प्रधान र गंगा पौडेललाई स्पष्टीकरण सोधिएको महानगरपालिका स्रोतले बतायो ।

महानगरपालिकाभित्र रहेका विभिन्न व्यापारिक प्रतिष्ठानबाट उठाउनुपर्ने घर जग्गा कर, बहाल कर, एकीकृत सम्पत्ति करलगायतको विषयमा आवश्यक कारवाही गर्नको लागि नगर प्रमुखले कारवाही पक्रिया अघि बढाएका हुन् ।महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आन्तरिक शुद्धीकरणका लागि केही कर्मचारीहरुलाई स्पष्टीकरण सोधिएको बताए । महानगरापकिलाको आन्तरिक विषय भएकोले धेरै जानकारी दिन नमिल्ने उनको भनाइ थियो ।

वीरगञ्ज महानगरपालिकाले नगरबासीसँग राजश्व लिएर खल्तीमा राखेको आरोपमा तीन जना वडा सचिवमाथि पनि अनुसन्धान शुरु गरेको छ । नगरबासीसँग अशुल गरेको राजश्व लगायतका दस्तुर महानगरमा दाखिला नगरेको आरोपमा वडा नं ३२, १६ र १४ का वडा सचिवमाथि अनुसन्धान शुरु गरिएको हो । अनुसन्धानकै क्रममा रहेकोले उनीहरुले नियमित काम कारबाही पनि गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्