Logo
३० कार्तिक २०८१, शुक्रबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय क्षेत्रभित्र अनुशासन व्यवस्थापन कि सजाय ?

जब तपाईं कुनै गेटभित्र प्रवेश गर्नुहुन्छ, लगभग सबैको हातहातमा वाकीटकी सेट देख्नुहुन्छ । उनीहरू त्यसैबाट सूचना पनि आदानप्रदान गरिरहेका छन् । आफू कहाँ प्रवेश गरेको अनुभूति गर्नुहुन्छ ? अवश्य पनि कुनै सैन्य शिविर या त्यस्तै कुनै सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र । तर होइन । यो दृश्य राजधानीको ललितपुर सातदोबाटोस्थित युनाइटेड स्कुलको हो । खास गरेर बालबालिका अध्ययन गर्ने विद्यालय क्षेत्रभित्र यस किसिमको संयन्त्र कति आवश्यक छ ? विद्यालय क्षेत्रभित्र यस किसिमको अनुमति दिनु ठीक छ कि छैन ? सरोकारवाला निकाय कत्तिको जानकार छन् ? यस्ता प्रश्नमाथि जिम्मेवार निकायमै बहस हुनु जरुरी देखिएको छ ।

अनुशासनका निम्ति निजी विद्यालयहरूले डिआई, डिसीजस्ता संरचना वा अंग नै निर्माण गरेका हुन्छन् । उनीहरूको खास काम विद्यार्थीहरू डिआईसँग डराऊन् र खास किसिमको अनुशासनमा बसून् भन्ने नै हो । पछिल्लो समयमा निजी विद्यालयप्रति अभिभावकको पूर्ण विश्वास देखिन्छ । यसका धेरै पाटा होलान् । त्यसमध्ये विद्यालयहरूले पालना गरिरहेको अनुशासन कायम गर्ने पद्धति हो । तर, अभिभावकले आफ्ना बालबालिका कस्तो मनोविज्ञानमा हुर्किरहेका छन् भन्ने विषयमा खासै वास्ता गरेको पाइएको छैन ।

विज्ञहरूको मत छ, ‘यदि विद्यालयमा बालबालिकाहरूको मनोविज्ञानमा डर पैदा गर्ने कुनै किसिमको सामान्य पनि गतिविधि मात्रै भयो भने पनि उनीहरूको सिकाइमा आधा कमी आउँछ ।’ कतै कतै यसलाई ‘डिसिप्लेन इन्चार्ज’ पनि भनिन्छ । कसैले ‘डिसिप्लिन काउन्सिलर’ भन्छन्, कसैले डिसिप्लिन इन्चार्ज । उनीहरू खासमा शिक्षक होइनन् । उनीहरूको विशेष जिम्मेवारी भनेकै विद्यार्थीहरूलाई पाइला–पाइलामा डर पैदा गरिराख्ने हो ।  अविनाश खड्गी युनाइटेड स्कुलमा कक्ष ६ मा पढ्छन् । उनी १२ वर्षका भए । उनी भन्छन्, ‘हाम्रो स्कुलमा सरहरूले खासै पिट्नुहुन्न, कराउनुहुन्छ । बदमासी गरेको खण्डमा दुईगुणा होमवर्क गराउनुहुन्छ । अनि फेरि बदमासी गरियो भने १० पटक ‘पुस अप’ गराउनुहुन्छ । अति गरियो भने कहिलेकाहीँ हातले पिट्नुहुन्छ तर त्यति साह्रो भने हैन ।’

भानुभक्त मेमोरियल स्कुलका प्रिन्सिपल बमबहादुर मोक्तान भन्छन्, ‘धेरै अनुसन्धानबाट प्राप्त निष्कर्षहरूले यो बताएका छन् कि विद्यालयमा विद्यार्थी रमाएर जाने स्थिति पैदा भए मात्र उनीहरूले राम्ररी सिक्न सक्छन् । नत्र ठीक विपरीत असर पर्न जान्छ ।’ पुस अप ! स्कुलमा यो कस्तो किसिमको सजाय हो । तैपनि विद्यार्थीहरू पनि डिसीको यस सजायसँग परिचित नै छन् । परिचित मात्र छैनन्, अभ्यस्त पनि छन् । हुन त विद्यार्थीहरूको चाप धेरै भएका स्कुलहरूमा अनुशासन कायम राख्नु चुनौतीपूर्ण नै हुन्छ । तर पनि हाम्रो शिक्षा क्षेत्रमा भइरहेका यस किसिमको अनुशासन व्यवस्थापनका निम्ति विभिन्न कार्य भई नै रहेका छन् । ‘हामीले हरेक कुराको नियम बनाएका छौं । हप्तामा एक दिन कक्षा शिक्षकले त्यो चेक गर्नुहुन्छ । स्कुलमा भएका खराब गतिविधिहरूका लागि चाहिँ हामीकहाँ डिसिप्लेन काउन्सिलर हुनुहुन्छ,’ युनाइटेड स्कुलका प्रिन्सिपल कुलदीप न्यौपाने भन्छन्, ‘हाम्रोमा बच्चाहरूलाई ‘नो टच’ भन्ने छ । यदि उनीहरूले बदमासी गरेको खण्डमा हामी ‘डबल वर्क’को सजाय दिन्छौं । त्यसपछि पनि भएन भने ‘पुस अप’ गराउँछौं । त्यसपछि पनि भएन भने हामी परिवारलाई बोलाउँछौं ।’

गौशालाको व्यस्त चोकको एउटा कुनो छ । चोकबाट रातोपुल हुँदै जाने सवारीको आवाजको बिसौनी स्कुलको मूल ढोकामै छ । त्यही हल्लाको भुमरीभित्र छ मंगलादेवी माध्यामिक विद्यालय । धेरैलाई त्यहाँ विद्यालय रहेको कुराको खासै हेक्कासमेत हुँदैन । किनकि निजी विद्यालयको जस्तो गेट छैन । जग्गेझैं सिँगारिएको छैन । ठूलो बोर्डलगायत अन्य तामझाम छैन । पछिल्लो समय काण्ठमाडौंका सरकारी विद्यालय मौनझैं लाग्छन् । यसका पछाडि थुप्रै कारण छन् । निजीप्रतिको आकर्षणले सरकारी विद्यालयबाट बालसुलभ होहल्ला र उत्साह नै खोसेर लगेको अनुभूति हुन्छ । मंगलादेवी माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्– गौरता कटवाल, १३ । गौरीघाटमा दाजु–भाउजूकोमा बस्ने उनी घरेलु कामदार हुन् । उनको घर भने उदयपुर आमावासी हो । उनी सुनाउँछिन्, ‘कहिलेकाहीँ स्कुलमा पढाइ हुन्न । तर धेरैजसो भने हुन्छ । ढिलो आउँदा र बदमासी गर्दा सर तथा मिसले कराउनुहुन्छ । कहिलेकाहीँ थोरै पिट्नुहुन्छ । मायाले पिटेजस्तो लाग्छ मलाई त ।’

पछिल्ला वर्षहरूमा काठमाडौंका सरकारी विद्यालय घरेलु कामदार र आयस्रोत कम हुने अभिभावकका छोराछोरी मात्र पढ्ने विद्यालयमा परिणत भएका छन् । मंगलादेवी माविका प्रधानाध्यापक कृष्णराज कट्टेल भन्छन्, ‘हाम्रो विद्यालयमा ८० देखि ९० प्रतिशत विद्यार्थी घरेलु कामदार छन् ।’ जम्मा २६५ जना विद्यार्थी रहेको विद्यालयमा लगभगजसो विद्यार्थी तिनै हुन् । ‘एक त त्यति विद्यार्थी छन्, त्यसमाथि कडाइ गरियो भने त्यो संख्या पनि घट्न जान्छ,’ उनी भन्छन् ।  हुन त आजभोलि सरकारी विद्यालय सजाय नै नदिइने विद्यालय भनेर चिनिन्छन् । भौतिकरूपले कारबाही गर्नुभन्दा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप, योगा, परामर्शलगायत तरिका अपनाएर उनीहरूलाई सही ठाउँमा ल्याउन सकिन्छ । प्रशान्त श्रेष्ठ मंगलादेवी माध्यामिक विद्यालयका कक्षा ८ का विद्यार्थी हुन् । उनी भन्छन्, ‘हाम्रो विद्यालय अलि फ्री छ । कहिलेकाहीँ हल्लाले गर्दा क्लास नै अवरुद्ध हुन्छ तर पनि सरहरूले कराउनु मात्र हुन्छ । कहिलेकाहीँ मात्र पिट्नुहुन्छ धेरै गरे । पिट्दा पनि त्यति सारो भने पिट्नुहुन्न ।’ सरकारी विद्यालयले पछिल्लो समय काठमाडौंमा यस्तै स्थिति भोग्नुपरिरहेको छ । अनुशासनका गतिविधि उनीहरूको लगभग एकै तरिकाले चलिरहेको स्पष्ट हुन्छ ।

सरकारी विद्यालयले अनुशासनको दायरा तोकेको पाइँदैन । निजी विद्यालयले भने चरण नै तोकेको पाइन्छ । यस्तै चरण राजधानीको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा भेटिन्छ । निकै नै व्यस्त विद्यालयमध्ये राजधानीको एउटा विद्यालय हो यो । प्रिन्सिपल बमबहादुर मोक्तान भन्छन्, ‘हाम्रोमा डिसिप्लिन कमिटी नै छ । हामी तीन तहमा अनुशासनलाई व्यवस्थापन गर्छौं ।’ यसै विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने विनायक ढोडारी भन्छन्, ‘डिआई अनुप सर हुनुहुन्छ । अति भएपछि मात्र चार्ज गर्नुहुन्छ । सुरुमा त सम्झाउनुहुन्छ त्यसपछि मात्र चार्ज गर्नुहुन्छ ।’ तीन तहअन्तर्गत सुरुमा सम्झाउने । त्यसपछि पनि भएन भने १÷२ दिनलाई सस्पेन्ड गर्छौं । त्यस पनि भएन भने हामी अभिभावक बोलाउँछौं ।’ उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘पहिला–पहिला लठ्ठी हान्ने चलन थियो । म पनि हान्थेँ । आजकाल समय फेरिइसक्यो ।’

अनुशासन आवश्यक छ । समाज व्यवस्थापनका निम्ति पनि । तर त्यसो भनेर बालबालिकाहरूको सिकाइमा असर गर्ने गरेर अनुशासनका नाममा त्रास पैदा गर्नु भने हुँदैन । मोक्तान भन्छन्, ‘धेरै अनुसन्धानबाट प्राप्त निष्कर्षहरूले यो बताएका छन् कि विद्यालयमा विद्यार्थी रमाएर जाने स्थिति पैदा भए मात्र उनीहरूले राम्ररी सिक्न सक्छन् । नत्र भए ठीक विपरीत असर पर्न जान्छ ।’ भानुभक्त मेमोरियल स्कुलका उत्सव न्यौपाने कक्षा १० मा अध्ययन गर्छन् । उनी भन्छन्, ‘सरहरूले हामीलाई बाटो देखाउनुहुन्छ । कहिलेकाहीँ बदमासी गरे अलिअलि पिट्नु पनि हुन्छ ।’ प्रिन्सिपल मोक्तान भन्छन्, ‘हामी आजकाल मनोवैज्ञानिक रूपान्तरणको प्रयास गर्छौं, कुनै भौतिक गतिविधि गर्दैनौं ।’ कुरा बाझिन्छन्, व्यवस्थापन र विद्यार्थीबीचमा । विद्यार्थीलाई सजाय पनि ठीकै हो भन्ने अनुभूत गराउन सफल भएका छन् । तर पनि त्यसले दीर्घकालीन रूपमा सामाजिक र मनोवैज्ञानिक असर भने पारिरहेको हुन्छ नै । त्यस सम्बन्धमा सरोकारवालाहरूले नै हेक्का राखेको भने पाइँदैन । जनता पोष्टबाट

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्