Logo
४ आश्विन २०८१, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा र सिंहबीच प्रतिस्पर्धा, सर्वसम्मत भए मात्रै कोइरालाको उम्मेदवारी

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ । पौडेल पक्षले देउवा पक्षमा असन्तुष्टि बढेको र त्यसको फाइदा उठाउन सकिने आस गरेको छ । पौडेल पक्षले ६३ मा २९ सदस्य आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्रै आफू दलको नेता बन्ने तर चुनावी प्रतिस्पर्धामा नजाने बताएपछि सिंहलाई अघि सार्ने तयारी भएको पौडल निकट एक केन्द्रीय सदस्यले बताए । प्रत्यक्षतर्फ २३ र समानुपातिक ४० गरी कांग्रेसका ६३ सांसद छन् । आफ्नो पक्षमा सुविधाजनक बहुमत देखेपछि देउवा दलको नेता बन्न आफैं अग्रसर भएका हुन् । केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतका युवा नेताले भने पार्टी पराजय भएको ०५१ र ०६३ मा गिरिजाप्रसाद कोइरालाले समेत आफू अघि नसरी दोस्रो तहका नेताहरूलाई दलको नेता बनाएको उदाहरण दिँदै देउवाबाट पनि त्यही अपेक्षा राखेको बताउँदै आएका छन्। तर देउवाले निटस्थ नेताहरूसँग दलको नेतामा आफैं प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।

कांग्रेसले दलको नेता र कार्यसमितिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउन शनिबार संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा राखिएको बैठकमा संसदीय दलको विधान र निर्वाचनको तालिकाबारे छलफल हुनेछ । दलले तयार गरेको विधानलाई अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १३ गते बोलाइएको छ । संघीय संसदको बैठकअघि नै कांग्रेसले दलको नेता चयन गरिसक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार यसै साता दलको नेताको चुनाव हुने सम्भावना छ ।

राष्ट्रिय सभाको निर्वाचनलगत्तै निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने प्रतिबद्धता गरेका सभापति देउवाले आइतबार बैठक त बोलाएका छन् तर यो बैठक संसदीय दलको विधान अनुमोदन, राष्ट्रपतिको निर्वाचन र संघीय संसदको बैठकका विषयहरूमै केन्द्रित हुने भएको छ । निर्वाचनको समीक्षा गर्दै पार्टी महासमितिको बैठक तिथि र स्थान तोक्ने जानकारी देउवाले यसअघि बसेको बैठकमा गराएका थिए । पार्टीका युवा नेताहरूले तत्काल केन्द्रीय कार्यसमिति बैठक र महासमिति बोलाउन माग गर्दै आएका छन । प्रवक्ता शर्माले १३ गतेको बैठकपछि मात्रै निर्वाचनको समीक्षा र महासमिति बैठक बोलाइने बताए ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्