पाँच प्रस्तावक र समर्थक समेत राष्ट्रपति बन्न २६ हजार ३ सय ९४ मत आवश्यक
काठमाडौँ : देशको नयाँ राष्ट्रपतिको चुनावी पक्रिया सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्न लागि फागुन २९ गते निर्वाचन तोकेको छ । त्यसका लागि २३ गते उम्मेदवारी दिनुपर्नेछ । राष्ट्रपति पदका उम्मेदवारले विजयी हुन २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने देखिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्य राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।
संघीय संसद र प्रदेशसभाका सदस्यमध्येबाट पाँच जना प्रस्तावक र पाँचजना समर्थक चाहिनेछ । संघीय संसद र प्रदेशसभामा स्वतन्त्र सांसदहरू अत्यन्तै न्यून रहेकाले दलगत समर्थनबिना कसैको उम्मेदवारी सम्भव देखिन्न । आयोग प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचन एकै स्थान काठमाडौंमा हुने बताए । आयोगले पाटन उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्वाचन अधिकृत तोक्ने प्रक्रिया अगाडि बढाइसकेको छ । कानुनले राष्ट्रपति निर्वाचनको अधिकृत उच्च अदालतका न्यायाधीश हुनुपर्ने भनेको छ । संघीय संसद रहेको बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै मतदान गराउने तयारी आयोगको छ । तर सम्बन्धित निकायहरूबाट अनुमति लिने प्रक्रिया बाँकी रहेकाले त्यसपछि मात्रै मतदान केन्द्रको सुनिश्चितता हुने ढकालले जनाए ।
संघीय संसदका ३ सय ३४ जनाको मतभार २६ हजार ३ सय ८६ तथा प्रदेशसभाका ५ सय ५० जनाको कुल मतभार २६ हजार ४ सय हो । व्यक्तिगत रूपमा मतभार संघीय सांसदको बढी भए पनि कुल संख्या प्रदेशसभाका सांसदको बढी भएकाले समूहगत रूपमा प्रदेश सांसदको मतभार बढी देखिएको छ । निर्वाचित हुन बहुमत ल्याउनुपर्ने संविधान र कानुनमा उल्लेख गरिएकाले राष्ट्रपति बन्न कम्तीमा २६ हजार ३ सय ९४ मत पुर्याउनुपर्नेछ । निर्वाचनमा कुनै पनि उम्मेदवारले तत्काल कायम रहेको कुल मतको बहुमत नल्याए बढी मत ल्याएका दुई जनाबीच मात्रै दोस्रो पटक चुनाव हुनेछ ।
त्यस अवस्थामा पनि कसैले ५० प्रतिशतभन्दा बढी मत कटाउन नसके तेस्रो पटक फेरि मतदान हुनेछ । तेस्रो पटकको निर्वाचनमा भने कुल मतदाताको हिसाब हुनेछैन । त्यतिबेला खसेको कुल सदर मतमा बढी मत ल्याएका व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन्। उपराष्ट्रपतिको हकमा पनि सोही प्रावधान लागू हुनेछ । संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको ५० प्रतिशत बढी उपस्थिति देखिएकाले गठबन्धनबाट उम्मेदवार हुने व्यक्तिले पहिलो पटकमै चुनाव जित्ने सम्भावना छ । मुलुककै सर्वोच्च पद राष्ट्रपतिका लागि उम्मेदवार हुने व्यक्ति वंशजकै आधारमा नागरिकता भएको हुनुपर्ने कानुनी प्रावधान छ । राष्ट्रपति तथा उपराष्ट्रपतिसम्बन्धी निर्वाचन ऐनमा वंशजका आधारमा नागरिकता लिएका र ४५ वर्ष उमेर पूरा भएका नागरिकले उम्मेदवारी दिन पाउने व्यवस्था छ । तर ती व्यक्ति प्रचलित कानुनअनुसार अयोग्य भने हुनु हुँदैन ।