माओवादीबाट किराती, आहुती र विष्ट आउट, मन्त्री छान्ने जिम्मा शिर्ष नेतालाई
काठमाडौँ : नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मानिएका गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई पार्टीले कारवाही गरेको छ । नेकपा एमालेसँग पार्टी एकता गर्ने घोषणापछि त्यसका विरुद्ध अभिव्यक्ति दिंदै आएका तीन नेतालाई माओवादीले कारवाही गरेको हो । उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुको बिहीवार बसेको बैठकले पार्टीमा नरहने गरी कारवाही गरेको हो ।
यस्तै, माओवादी केन्द्रले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेतालाई दिएको छ । खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा बिहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो ।
कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए । बैठकमा यही फागुन ७ गते नेकपा एमालेसँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो ।