संघीय संसदको पहिलो बैठक फागुन २१ गते बोलाइयो
काठमाडौं : गत मसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले यहि फागुन २१ गते संसदको अधिवेशन आह्वान गरेकी हुन् ।
संविधानको धारा ९३ (१) को प्रावधान बमोजिम फागुन २१ गते सोमबारका दिन दिउँसो ४ बजे अधिवेशन आह्वान गरिएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सांसदहरुले सोही दिन सपथ लिने छन् ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो । संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।
लगत्तै सरकारको सिफारिसमा निर्वाचन आयोगले मिति तोकेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने छ ।