सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा
- नागरिक टाइम्स/ संवाददाता
५ फाल्गुन २०७४, शनिबार ००:००
पोखरा : खेलकूदको माध्यमबाट पोखरामा पर्यटन प्रवद्र्धन गर्ने ध्येयका साथ यही फागुन ७ गते पोखरामा हुने बाह्रौँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिताको तयारी पूरा भएको छ ।
भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, पाँच किमी छात्रमा १८० जना र पाँच किमी छात्रामा १०० जनाले नाम दर्ता गराइसकेको जानकारी दिइयो ।
‘दौड स्वास्थ्यका लागि, दौड पोखराका लागि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको म्याराथनमा ४०० मिटर ह्विल चेयर पुरुष, १०० मिटर ह्विल चेयर महिला र १०० मिटर दृष्टिविहीन दौड प्रतियोगितामा एक हजारभन्दा बढी धावकको सहभागिता रहने भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
पोखरा म्याराथनमा प्रथम हुनेले नगद रु ७० हजार, दोस्रोले रु ४५ हजार र तेस्रोले रु ३० हजार र चौथोले सान्त्वनास्वरुप नगद रु पाँच हजार प्राप्त गर्ने बताउँदै उहाँले १० किमी पुरुष–महिला दौडमा प्रथमले रु १५ हजार, दोस्रोले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार नगद प्राप्त गर्ने बताउनुभयो ।
त्यसैगरी, पाँच किलोमिटर छात्रछात्रा प्रथमले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रोले रु चार हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । प्रतियोगितामा ४०० मिटर ह्विल चेयर पुरुष–महिला र १०० मिटर दृष्टिविहीन दौडमा विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पाउने छन् ।
पत्रकार सम्मेलनमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतियोगितालाई थप व्यवस्थित बनाउन महानगरपालिकाको महत्वपूर्ण सहयोग रहने बताउनुभयो ।