उज्यालोमा बितेको बालापन : तर अँध्यारोमा पनि फुल्छ जीवन
मानिसले कसरी सम्हाल्छ होला आफू जब हिँडिरहेको बाटोबाट ठीक विपरीततिर मोडिन्छ जिन्दगी । जिन्दगी नामक जटिल संयोजनलाई मान्छे कसरी परिभाषित गर्छ होला, जब मृत्युको ठीक नजिक पुगेर फर्कन्छ । जब दुःखका र आँसुका अनेक आयामहरूसँग परिचित बन्छ मान्छे तब मात्र उसले खास जिन्दगी बाँच्न सक्छ । आँसु र दुःखको हिलोमाथि उभिएर कमल भएर फुल्नको लागि हिम्मत चाहिन्छ । सृष्टि केसीसँग भएजस्तो हिम्मत !
उनी अँध्यारोको भेलमाथि जीवनको डुंगालाई किनारा लगाइरहेकी छन् । अँध्यारोको मिठाइ पसलमा बसेर मुस्कानको जेरी बाँडिरहेकी छन् । अँध्याँरोको फाँटहरूमा सपनाको खेती गरिरहेकी छन् । जिन्दगी नामक जटिल शब्दलाई मान्छेले कसरी परिभाषित गर्छ होला जब मृत्युको नजिक पुगेर फर्कन्छ मान्छे । आँसु र दुःखको हिलोमाथि उभिएर कमल भएर फुल्नको लागि हिम्मत चाहिन्छ । सृष्टि केसीसँग भएजस्तो हिम्मत !
उज्यालोमा बितेको बालापन
बालापलमा एक किसिमको उत्सुकतासहित बाँच्ने गर्छ हरेक मान्छे । उनी पनि त्यसबाट कसरी अछुत रहन सक्थिन् र ! हरेक नयाँ कुरा जान्ने जिज्ञासा हुन्थ्यो । घरकी कान्छी छोरी । दुईजना दाजुहरूको ‘लाडप्यार’बाट हुर्किएकी । एकदमै चुलबुले थिइन् । पढाइमा भन्दा बढी अतिरिक्त क्रियाकलापमा रूचि राख्ने गर्थिन् । नाच्ने, गाउने, नाटक गर्ने, बोल्ने कुरामा सानै उमेरदेखि अब्बल थिइन् । ‘न्यायको लागि चैँ सानै उमेरदेखि नै बोल्थेँ,’ उनी थप्छिन्, ‘यहीकारण सानैदेखि सरहरूले ‘योचाहिँ वकिल बन्छे’ भन्थे । त्यसपछि लाग्थ्यो– मैले वकिल बन्नुपर्छ ।’
सबै मान्छेको सबै सपना कहाँ पूरा हुन्छ र ! अधुरा सपना बोकेर नै मान्छे बाँच्छ र मर्छ । उनको वकिल बन्ने सपना पनि सपनामै सीमित भइदियो । जब उनले यो दुनियाँको उज्यालोलाई महसुस मात्र गर्नुप¥यो । देख्न सकिनन् । सानातिना कुराले मान्छेलाई प्रभावित गरिरहन्छ । मान्छेलाई हिर्काउने भनेकै सानातिना कुराहरूले त हो नि ! एकदिन सरले एउटा लेसन पढाए । सहयोग भन्ने कुरा पनि अवसर हो । जोकोहीले चाहँदैमा सहयोग गर्न सक्दैन भन्ने कुरा । र यसपछि उनले प्रतिज्ञा गरिन्, ‘मैले जिन्दगीमा सहयोग गर्ने अवसर आयो भने म कहिल्यै पछि पर्दिनँ ।’ बाल्यकालमा एउटा बच्चाले पाउनुपर्ने केही कुराबाट पनि वञ्चित भइनन् उनी । एकदम चकचक गर्थिन् । अरूले सक्छ भने म पनि गर्न सक्छु भन्ने लाग्थ्यो उनलाई । र त्यो कुरा अहिले पनि उत्तिकै ऊर्जाको साथ उनको मनभित्र छ र गरिरहेकी छन् ।
जब उज्यालो उनीबाट टाढियो
उनले बिस्तारै देख्न छाडिन् । यो दुनियाँको उज्यालोले उनीसँग सम्बन्धविच्छेद ग¥यो । त्यतिबेला उनको मनमा एक किसिमको संशयले बास गरेको थियो । ८ कक्षामा पढ्थिन् । उनलाई थाहा थिएन– डाक्टरको सानो लापरवाहीका कारण उनी आँखा देख्न छाड्दैछिन् । तर उनको स्वभाव पूर्णरूपमा परिवर्तन भएको थियो । एकदमै बोल्ने मान्छे बोल्न छाडेकी थिइन् । आत्मबलमा थोरै असर ग¥यो । आकाश–पाताल नै भएको भएको थियो । तर उनी एकदमै आशावादी थिइन् कि उनी देख्न सक्छिन् । आँखै देख्न छाड्छु भन्ने मनमा एकरत्ति पनि थिएन । जतिसुकै सानो किन नहोस्, जब मान्छेसँग आशा भन्नेकुरा जीवित रहन्छ तबसम्म बाँच्ने अभिलाषा रहिरहन्छ ।
त्यतिबेला आँखा देख्न बिस्तारै छाडे पनि उनको दिमागले स्वीकार्दै स्वीकारेन कि उनले आँखा देख्न छाड्दैछिन् । त्यही दिमाग र आँखाको द्वन्द्वमा केही समय गुजारिन् । समाजका जुन किसिमको कुरा चलिरहेको थियो, त्यसले झनै उनमा कन्फ्युजन सृजना गरिरहेको थियो । तर उनलाई जसरी क्लियर पनि हुनु थियो कि के उनीसँग उज्यालोले डिभोर्स नै गरेको हो त ? उनी मेडिकल्ली क्लियर हुन चाहन्थी । इण्डिया गएपछि उनले डाक्टरलाई भनिन्, ‘म एकदम मेन्टल्ली प्रिपेयर्ड भएर आएकी छु, जे हुन्छ मलाई भन्नुस । मैले देख्ने सम्भावना छ या छैन । मलाई जसरी पनि जान्नु छ ।’ यसपछि डक्टरले भने, ‘जे गयो गयो, अब फर्केर आउँदैन ।’
हरेक मान्छेको आफ्नो बाटो क्लियर भयो भने यात्रा गर्न सहज हुन्छ । चाहे जतिसुकै उकालो हिँड्न नै किन नपरोस् । समय सधैँ मान्छेको विरुद्धमा हुन्छ । तर समय अनुकूल बन्ने प्रयात्न गरिरहनुपर्छ हामीले । यसपछि उनले प्रतिज्ञा गरिन्– अब नदेख्ने जीवन बाँच्न सुरू गर्छु । देख्नको लागि बाँच्न छाडिदिन्छु ।’ नत्र खाली उनी देख्छु कि भनेर कहिले यहाँ, कहिले त्यहाँ हिँडिरहिन् । यसपछि आफैंलाई सम्झाउँदै गइन् । मान्छेले जब आफूलाई सम्झउन सक्छ त्योभन्दा ठूलोकुरा यो दुनियाँमा सायद, अरू केही हुँदैन होला मान्छेका लागि । हुन त त्यो उनको लागि सजिलो त थिएन तर उनले आफूलाई र आफ्नो चेतनालाई मज्जाले सम्हालिन् । र डिप फ्रस्टेसनमा जानबाट बचिन् ।
एकाएक देख्दै आएको आफ्नो दुनियाँ, देख्दै आएको आफ्नो अनुहार सदाको लागि अँध्यारोमा बिलिन हुँदामा मान्छे निराश त भइहाल्छ नि ! तर उनले आफूलाई सम्हालिन् । उनले आफूलाई सम्हाल्नुमा समाजमा लागिरहेको आगोभन्दा पनि आफैँभित्र सल्किरहेको आगोको कारण थियो । त्यो कुराले अझ निरन्तर जानुपर्छ÷बढ्नुपर्छ भन्ने साहस दियो । रोएर भए पनि अगाडि बढिन् । दुखेर भए पनि अगाडि बढिन् । बढिरहिन् । एक कदम नै भए पनि चालिरहिन् । उनी भन्छिन्, ‘एक कदमपछि अर्को कदम राख्न चैँ छाडिनँ । जुनसुकै अवस्थामा पनि सक्दिनँ भन्ने लाग्दामा पनि अन्यौलतामा नै भए पनि कदम बढाइरहेँ ।’
केही सम्भावना त होला नि भनेर पनि बढाइन् । मरे नि मर्छु भनेर पनि बढाइन् । बाँचे नि बाँच्छु भनेर पनि बढाइन् । बस्, बढाइरहिन् । बढाइरहेकी छन् । बढाइरहनेछिन् । जीवनको एउटा अर्को नियम हो– दौडन नसके हिँड्नु, हिँड्न नसके घस्रनु र घस्रन नसके चलमलाइरहनु । तर हार कहिल्यै नखानु । उनी यस्तो बाटोमा हिँडिरहेकी छन् जसले उनलाई आफ्नो सपनाको अन्तिम विन्दुतिर डो¥याइरहेछ ।
‘लाइफ इज अल अबाउट बिजनेस । हामीले आफ्नो क्षमतालाई बेच्छौंं । सीप बेच्छौंैँ । आइडिया बेच्छौं । यदि हामीले बेचेनौँ भने हामी बाँच्न सक्दैनौँ । मैले आफ्नो क्षमता बेचिराछु । प्रतिभा बेचिराछु । आफ्नो आइडिया बेचिराछु । यदि मेरो इमोसन बिक्री भएर कसैको जीवन परिवर्तन हुनसक्छ भने त्यो व्यापार होइन । त्यो लगानी हो । त्यो मेरो लागि इन्भेस्टमेन्ट हो ।’
र उनको आमाको आँसुले पनि बढायो उनलाई । यो कारणले कि उनी दृष्टिविहीन हुँदामा सबैभन्दा बढी उनको आमा रोइन् । उनलाई लाग्यो कि आमाको आँखाको डिलबाट खसेको आँसुलाई मुस्कानमा परिणत गर्नुछ जसरी पनि । आफन्तहरू नरोउन् भनेर उनले आँसु थामिन् र थाम्दा थाम्दै आँसु थाम्ने बानी प¥यो उनलाई । भन्छिन्, ‘आँसु थाम्दाथाम्दै त्यसमा शक्ति आयो, ऊर्जा आयो ।’
मान्छेमा हिम्मत चाहिन्छ । यदि हिम्मत भयो भने मान्छेले हारेको बेलामा पनि खुसीको बाढी उराल्न सक्छ । यो कारणले कि मैले हारेकै कारण कसैको ओँठमा मुस्कान देखिएको छ । कसैको बाआमा खुसी भएका छन् । उनीसँग अपांगता छ तर त्योभन्दा पहिले उनी यो राज्यको नागरिक हुन् । कसैकी छोरी हुन् । कसैको बैनी हुन् । अगाडि बढदै गर्दा उनको सामुन्ने अपांगता बहाना बनेर कहिल्यै पनि आएन । यही कारणले सृष्टि केसी सृष्टि केसी भएकी हुन् । मान्छेमा विद्रोही चेत पनि हुन जरुरी छ । त्यो चेत भएन भने मान्छे सधैँ दमित, शोषित भएर बाँच्ने गर्छ । अरूले अवरोध गर्छ भनेर बोल्न र विरोध गर्न कहिल्यै पछाडिनन् ।
सपनाको खेती
सपना नै देखेको छैन भने लक्ष्य कसरी प्राप्त हुन्छ र ! मान्छेमा एउटा सपना हुन्छ । जुन कुराले मान्छेलाई जिउनको लागि साहस दिन्छ र मान्छे हुनुको सार्थकता पुष्टि गर्छ । उनी दार्शनिक तवरले भन्छिन्, ‘मरेपछि पनि सदाको लागि बाँच्नको लागि सपना जरुरत छ । किनकि सपनासँग फिङ्गर प्रिन्ट हुन्छ जुन छोड्यो भने मात्र मान्छेलाई मरेपछि पनि दुनियाँले सम्झन्छन् ।’ हुन पनि हो, हजारौँमा होलसेलमा जन्मिएर होलसेलमा नै मुर्नु त के मजा र ! आफ्नो निश्चित पहिचान बनाउनुपर्छ । जिन्दगीमा केही गर्नु छ भने सपना र लक्ष्य हुन जरुरी छ । त्योअनुसार अगाडि बढ्न जरुरत छ । सपना नै भएन भने त मान्छे लास हुन्छ, मुर्दा हुन्छ ।
उनलाई जीवनप्रति एकरत्ति पनि गुनासो छैन । उनी जसरी बाँचिरहेकी छन्, आफ्नो इच्छाले बाँचिरहेकी छन् । उनको कथा कसैको प्रेरणाको स्रोत बनिरहेछ । हिजो उनले भोगेको दिन कसैको लागि बाँच्ने ऊर्जा बन्छ भने त्योभन्दा ठूलो खुसी अरू के हुन सक्छ र एउटा मान्छेको लागि ! उनी भन्छिन्, ‘मेरो जीवनलाई कसैले भ्यालु दिएर हेरिरहनु भएको छ भने त्यसबाट मलाई थप ऊर्जा मिल्छ ।’ उनले अरूलाई मोटिभेसन दिइरहँदा आफू स्वयं मोटिभेट भइरहेकी हुन्छिन् । ‘आफ्नो कथाहरू रिफ्लेक्सन गरिन्छ,’ उनी थप्छिन्, ‘र त्यो रिल्फेक्सनबाट शक्ति आउँछ आफूलाई ।’
यो दुनियाँ बडो जटिल छ । सधैं मकुण्डो लगाएर हिँड्छ यो दुनियाँ । सधैं षड्यान्त्र रचेर समय कटाउँछ यो दुनियाँ । दृष्टि गुमाएर यो दुनियाँसँग अन्जान हुनुभन्दा पनि दुनियाँलाई देख्न र बुझ्न चाहिँ उनले देख्न छाडेपछि थालिन् । किनभने देख्दाखेरीको एउटा भ्रमको संसार थियो । ‘आफूमा भएको क्षमतालाई देखाएन भने एउटा सानो अपागंताले पनि मान्छेलाई सीमित गराउँदो रहेछ,’ उनी थप प्रष्ट पार्छिन्, ‘अपागंता तपाईंलाई कहाँ थाहा हुन्न कतिखेर र कहिले हुन्छ भनेर ।’ मानिसले कति सजिलै अरूको जीवनको व्याख्या गर्ने गर्छन् तर त्योभन्दा पहिले आफ्नो जिन्दगीको व्याख्या गर्नुपर्छ भन्ने लाग्यो उनलाई । मान्छेहरूले उनलाई पढ्न सक्दैन भनेर भन्थे ।
धेरै कलेजहरूले रिजेक्ट पनि गरे । तर डिल्लीबजार कन्या बहुमुखी कलेजबाट प्लसटुमा नेपाल टप गरिन् । यो जीवनको सबैभन्दा ठूलो खुसी थियो उनको । हुन पनि हो, जब मान्छेहरूले आफ्नो कमजोरीहरूलाई औंल्याइरहेका हुन्छन् र त्यही कमजोरीलाई शक्तिमा बदलेर देखाइन्छ, त्योभन्दा ज्यादा खुसी अरू के हुन्छ र ! आफ्नो कमजोरीमाथिको ठूलो विजय थियो त्यो उनको । नेपाल टप गरेर राष्ट्रपतिबाट मेडल हात पारिन् । त्योभन्दा ज्यादा उनको खुसीहरू सानासाना कुरामा अल्झिएको हुन्छ । भन्छिन्, ‘बाटोमा हिँड्दा ‘ए तपाईं त सृष्टि होइन ?’ भनेर भन्छन् । मलाई त्यो कुराले ज्यादा खुसी दिन्छ ।’ हिजोको दिनमा अनिश्चितताको पहाड अक्लिने हिम्मत नबटुलेकी भए सायद उनले यो माया पाउने थिइन । ती प्रेमहरूले उनलाई ऊर्जा दिन्छ, जसले खुसीको बत्ती बाल्छ सधैं ।
उनीसँग ब्लाइण्ड रक्स भन्ने ग्रुप छ । त्यो ग्रुप उनको सपना पनि हो । उनलाई लाग्छ मान्छेलाई प्रतेक कदमले धकेल्छ । अघि बढेपछि एक पाइला सर्दै जान्छ । उनको जीवनमा अनेक किसिमको समस्या आयो । जस्तैः अब यसले के गर्छ । कसरी जागिर खान्छ । त्यो किसिमको सोच विद्यमान थियो । त्यो कुरा जब उनलाई थाहा भो उनले पनि केही गरेर देखाउनुपर्छ भन्ने लाग्यो र जन्मियो –ब्लाइण्ड रक्स ! र यो उनको जीवनको सपना हो । त्यसमा दृष्टिविहीन साथीहरूको सहयोग पनि एकदमै मिल्यो । दृष्टिविहीनहरू पनि अरू सवल मान्छेले जसरी नाच्न, गाउन सक्छन् भनेर सुरु गरे उनीहरूले र गरेर पनि देखाइदिए । ‘लेट्स रक द वल्र्ड’ कार्यक्रम लिएर विदेशतिर पनि धेरै ठाउँमा पुगे । यो सृष्टि केसी र उनका साथीहरूको तर्फबाट गतिलो जवाफ हो अपांगता भएकाहरूले केही गर्न सक्दैनन् भन्नेहरूका लागि ।
मुस्कुराउनका लागि आँसु
‘आँसु भनेको चैं आफूभित्र भएको इमोसनलाई बगाएर हाँस्ने अर्को मौका हो । जब रोइन्छ, तब मन पखालिन्छ । त्यसपछि हाँस्न सकिन्छ । किनभने रुन पनि जरुरत छ । म धेरै पटक रोएको छु । तर रुनुको अर्थ त्यो मेरो कमजोरी होइन । मैले मभित्रको कमजोरी पखालेको हो । किनभने म फेरि नयाँ म बनेर निक्लनुु छ,’ उनी भन्छिन् । आँसुबाट ती सबैकुरा बगाएर ऊर्जा निकालेर बाँच्न चाहन्छिन् उनी । बट्टामा सामान राख्ने खाली ठाउँ छैन भने त कसरी राख्ने । भित्र पीडैपीडाले भरिएको छ । तर ती कुरालाई निष्काशन नगरे मान्छेले कसरी पोजिटिभ भाइब कसरी राख्न सक्छ र ! पोजिटिभ भाइब निष्काशन गर्ने त्यो पदार्थ हो आँसु !
आँखा नदेख्दाभन्दा पनि आँखा नदेखेको कारणले मान्छेहरूबाट जुन किसिमको कमेन्ट आउँथ्यो त्यो कारणले धेरैपटक भाँचिइन् उनी । जब उनको आमालाई पनि त्यो गल्तीको भागिदार बनाइन्थ्यो ।
प्रेम जो हिलोमा पनि फुल्छ
प्रेमबिनाको यो दुनियाँको कल्पनै नगरौं । मैले अघिल्लो फिचरमा पनि भनेको थिएँ –प्रेमबिना यो संसार कस्तो हुन्थ्यो होला ! सायद, यो दुनियाँ कुनै निर्जन टापुजस्तोे हुन्थ्यो होला । मान्छेहरू त्यही टापुका पत्थरजस्ता हुन्थे होलान् । प्रेम हरकोहीको जीवनमा चाहिन्छ । विशेष गरेर अपागंता भएकाहरूलाई आउने ठूलो प्रश्न भनेकोे प्रेम र विवाह हो । यसबारे अपांगता भएकाहरूले खुलेर बोल्नुपर्छ भन्ने लाग्छ उनलाई । ‘हामीलाई घरको लागि योग्य बुहारी सोचिन्न,’ उनी लामो सास तानेर आत्मविश्वासका साथ भन्छिन्, ‘तर प्रेम त अपांग हुँदैन नि ! मन त अपांग हुँदैन नि ! प्रतेक पल हाम्रो इमोसनलाई पनि हाम्रो अपागंतासँग जोडिन्छ । यो समस्या चैं नोपालमा मात्र नभएर विश्वभरी नै छ ।’
प्रेममा पर्नुभएको छ कि छैन भन्ने जिज्ञसामा उनले भनिन्, ‘प्रेममा परिएन भने त बायोलोजिकल डिसअर्डर भइगयो नि ! (लामो हाँसोको फोहरा छुट्यो उनको अनुहारबाट र बोलिन्) मेरो हर्मनमा समस्या छ भन्ने भइहाल्छ नि !’ एउटा टाइममा सबैको क्रस, आकर्षण, लभ हुन्छ । कोही मान्छे साथ होस् भन्ने त लाग्छ तर त्यसमा कहिल्यै पनि एउटा मात्र अप्सन हुनुहुन्न भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘हामी इमोसनल्ली इन्डिपेन्डेन्ट हुनुपर्छ । किनभने हामीलाई कसैको साथ त चाहिन्छ तर कसैको पनि साथ र इमोसनको नोकर हुनुहुँदैन ।’ उसले सपोर्ट नगर्न बित्तिकै आफू टुक्रिनु पर्ने किसिमले कसैको पनि नजिक हुनुहुन्न भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘उसको साथले थप ऊर्जा त मिलोस् तर अप्सन हुनुपर्छ ।’
उनी प्रेमको कुरा आएपछि विगततिर फर्किइन् । उनको एकजनासँग प्रेम भएको थियो । तर पछि उनको आमाले विष खान्छु भनिन् । उनको परिवारले मानेनन् । छोरीले दुःख पाउँछे भनेर । हो यही कुरो ठूलो समस्या लाग्छ उनलाई । ‘त्योसँग बिहे गरिस् भने हामी मरे पनि भयो’ जस्ता कुराहरू प्रतिकृयास्वरूप आए । मान्छेमा एउटा सपना हुन्छ । जुन कुराले मान्छेलाई जिउनको लागि साहस दिन्छ र मान्छे हुनुको सार्थकता पुष्टि गर्छ । उनी दार्शनिक तवरले भन्छिन्, ‘मरेपछि पनि सदाको लागि बाँच्नको लागि सपना जरुरत छ । किनकि सपनासँग फिङ्गर प्रिन्ट हुन्छ जुन छोड्यो भने मात्र मान्छेलाई मरेपछि पनि दुनियाँले सम्झन्छन् ।’
रहरको शेष–पथ …
उनी अपांगता भएकाहरूको तर्फबाट एम्बासेडर बन्न चाहन्छिन् । ‘तर त्यो पोस्ट अहिलेसम्म छैन,’ लामो हाँसो हाँसिसकेपछि बोल्छिन्, ‘मे बि हामी आफैं क्रियट गर्न सक्छौँ ।’ यो कारणले कि उनलाई आफूले सिकेको कुरा सिकाउँदै र सिक्दै अनि एक ठाउँबाट अर्को ठाउँमा कनेक्ट गर्दै हिँड्न मन छ । अझै राम्रोसँग गर्न मन छ । संसारका अपांगता भएकाहरूले निराश भएर बाँच्नु नपरोस् र अरूको आशमा बस्न नपरोस् भन्ने चाहन्छिन् उनी । ब्लाइण्ड रक्सको जुन मिसन छ, भिजन छ । त्योअनुसर नै बढ्ने योजनामा छिन् सृष्टि । जुन उनको जीवनको प्यासन हो । सपना हो । लक्ष्य हो । उनलाई कनेक्टिङ पइन्ट बन्न मन छ ।
जीवन भनेको के हेला ? ‘सायद, जीवनलाई मान्छेले जसरी व्याख्या गर्छ त्यही हो जीवन । जीवन भनेको आफ्नो लागि, आफ्नो खुसीको लागि बाँच्नु हो,’ उनी थप्छिन्, ‘आफू त कमसेकम सन्तुष्ट हुनुप¥यो नि !’ उनलाई लाग्छ कि हामी हरपल बहाना गरेर बाँचिरहेका हुन्छौँ । तर जति नै गरे पनि कसैले हाम्रो लागि जिइदिने होइन । जीन्दगीसँग गुनासो गरेर के काम ? जिन्दगीमा केही ग¥यौँ भने पनि आफ्नै कारण र केही गरेनौँ भने पनि आाफ्नै कारण हो भन्ने लाग्छ उनलाई । ‘त्यही भएर इट्स अबाउट च्वइस । जीवनलाई कस्तो बनाउने र के बनाउने भन्ने कुरा हाम्रो हातमा छ,’ उनी भन्छिन्, । त्यही भएर आफ्नो जीवनको लागि आफैले पर्फेक्ट पभिाषा बनाउनुपर्छ र त्यो परिभाषाअनुसार आफ्नो जीवनलाई चलाउनुपर्छ भन्ने मान्यता राख्छिन् उनी ।
मान्छेले सधैं अरूको इमोसन बेचिरहेका हुन्छन् । म पनि तपाईंको इमोसन बेचिरहेको छु । यसमा तपाईंको धारणा के भन्ने मेरो जिज्ञासामा उनले भनिन्– ‘लाइफ इज अल अबाउट बिजनेस । हामीले आफ्नो क्षमतालाई बेच्छौंं । सीप बेच्छौंैँ । आइडिया बेच्छौं । यदि हामीले बेचेनौँ भने हामी बाँच्न सक्दैनौँ । मैले आफ्नो क्षमता बेचिराछु । प्रतिभा बेचिराछु । आफ्नो आइडिया बेचिराछु । यदि मेरो इमोसन बिक्री भएर कसैको जीवन परिवर्तन हुनसक्छ भने त्यो व्यापार होइन । त्यो लगानी हो । त्यो मेरो लागि इन्भेस्टमेन्ट हो ।’
सुखमा पनि र दुःखमा पनि काम लाग्ने एउटा कुरा हो यो ‘पल पनि बितेर जान्छ’ । गुनासोकै चाङ त सफलताको शिखरमा पुगेका मान्छेसँग पनि हुन्छ । उनी सृष्टि भएर बाँच्न चाहन्छिन् । तर खाली नामको अगाडि अपागंता किन झुण्डाइन्छ ? उनी भन्छिन्, दृष्टिविहीन मेरो परिचय होइन, अवस्था हो ।’ तर मान्छेहरूले दृष्टिविहीनहरूले हाँसे पनि दृष्टिविहीन भएकोले हाँस्यो, रुँदामा पनि, र खाँदामा पनि त्यही कारण हाँस्यो भन्छन् । ‘जे गरे पनि ब्लाइण्डनेससँग किन अट्याच गराइन्छ ?,’ उनी दुःखी हुँदै बोल्छिन्, ‘हरेक कुरामा दृष्टिविहीन आउँछ, यसमा मेरो
गुनासो छ ।’
फिल्म ‘ब्लाइण्ड रक्स’
उनको जीवनमा आधरित रहेर ब्लाइण्ड रक्स फिल्म पनि बन्दैछ । मिलन चाम्सले निर्देशन गरेको उक्त चलचित्रमा बेनिसा हमालले उनको भूमिका निर्वाह गर्दैछिन् । १८ मिनेटको उनको मोटिभेसनल भिडियो युट्युबबाट निकेश लिम्बुले हेरेपछि एकदमै प्रभावित भएछन् । १८ मिनेटको भिडियोले आफ्नोे जीवनमा यति धेरै परिवर्तन गर्न सक्छ भने झनै यसमाथि चलचित्र बन्यो भने कतिले हेर्छन होलान् ! कतिको जीवनमा परिवर्तन हुन्छ होला ! भन्ने लागेछ निकेश लिम्बुलाई ।
र उनीसम्म त्यो कुरा आइपुग्यो । उनले स्वीकार पनि गरिन् । किन भने छोटो उमेरमै उनको कथा डिजर्भिङ सोचिएर चलचित्र बन्छ र देश विदेशमा पुग्छ भने हुन्छ भने किन बनाउन नदिने त भन्ने लाग्यो उनलाई र यही फागुन १८ गतेबाट देशैभर रिलिज हुँदैछ । उक्त चलचित्रमा बेनिसा हमालले उनको भूमिका निर्वाह गरेकी छन् । उनी उक्त चलचित्रबाट निकै आशावादी छिन् । भन्छिन्, ‘चलचित्रले मेरो कथालाई न्याय गरेको छ ।’ जनता पोष्टबाट