Logo
३ आश्विन २०८१, बिहीबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम एकतासहित मन्त्रीको चयन प्याकेजमा टुंगाइने

काठमाडौं : एमाले–माओवादीबीच हुने वाम एकतासहित नयाँ सरकारमा प्रतिनिधित्व गरिने मन्त्रीको टुंगो प्याकेजमा टुंग्याइने भएको छ ।

पहिलो चरणमा माओवादी सरकारमा सहभागि नहुँदा बाहिर आएका हल्लामा कुनै सत्यता नभएको प्रष्ट पार्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता र मन्त्रीको टुंगो प्याकेजमा टुग्याउने तयारी भएको बताए ।

राजधानीमा भएको एक कार्यक्रममा उनले भने,‘हामी हिजो सरकारमा नजाँदा जेजति हल्ला चलाइयो ती सबै गलत छन् । हामी अझै पनि वार्तामै छौ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामख र मन्त्रीहरुकै विषय टुंग्याएर प्याकेजमै एक दुईदिनभित्रै पार्टी एकताको खाका तयार गर्छौ’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘ हामी राजनीतिक नियुक्ति सहितको एकता गर्छौ । वार्ता सकारात्मक भइरहेको छ ।’

प्रचण्डले मुलुकले ७० वर्षपछि स्थायित्व पाउन लागेको भन्दै यसअघिका सबै सरकार कमजोर भएको र अब बन्ने सरकारले अघिल्ला सरकारहरुले गर्न नसकेका काम गरेरै छाड्ने दाबी गरे ।

पहिलो चरणको मन्त्रिमण्डल गठनमा माओवादी केन्द्र सहभागि नभएपछि विभिन्न किसिमका अड्कलबाजी भएका थिए । यता, जनसंख्या तथा वातावरणमन्त्री एवं एमाले नेता लालबाबु पण्डितले पनि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको जीकिर गरेका छन् ।

राजधानीमा भएको साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताए । उनले पनि प्याकेजमै सहमति खोज्ने तयारी भएको बताए । मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने दावी गरे ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्