लेनिनवाद कि माओवाद ? को बहसबीच वाम विचारको लय
सुरुमै कामना गर्छु, एमाले र माओवादी केन्द्र मिलुन् । नयाँ सुन्दर पार्टी बनोस् । उन्नत र सिर्जनशील विचारको रचना होस् । कसैले पनि एकतामा भाँजो हाल्नु आवश्यक छैन । तर प्रस्तावित एकताको गुह्य स्वार्थमा भने आशंका गर्नु अन्यथा हुँदैन । त्यही आशंकाको जगमा प्रश्न गरौं कि यो एकता केका लागि ? नेपालका कम्युनिष्टहरू क्रान्ति चाहन्छन् कि सत्ता ? खासगरी एमाले र माओवादी केन्द्रको गन्तव्य के हो ? समाजवाद कि भोगवाद ? यो आशंकाप्रति म सोह्रैआना विश्वस्त छु । किनभने एकताको पछिल्लो बहसमा कहीं कतै ‘जबज’ छैन । ‘एक्काइसौ शताब्दीको जनवाद’ छैन । नयाँ वैचारिक गन्तव्यको विमर्श छैन । छ त केवल सत्ता र शक्तिको जोड–घटाउ । यस्तो लाग्छ, यो कुनै कम्युनिष्ट पार्टीको एकता नभई कम्पनी ‘मर्जरको’ प्रयत्न हो ।
जसको केन्द्रीय स्वार्थ छ, ‘अझ धेरै नाफा’ । घनश्याम भुसाल, प्रदिप ज्ञवाली, नारायणकाजीहरू भएको पार्टीमा सैद्धान्तिक बहसलाई छोपछाप गर्नु अनौठो दुर्भाग्य हो । सुनिन्छ कि एकताको हलो ‘सत्ता र शक्तिको’ भागबन्डामा अड्किएको छ । हिजो कम्युनिष्टहरू भन्थे, ‘विचार प्रधान र पद गौण’ हो । आज ‘पद प्रधान र विचार गौण’ कसरी भयो ?
लेनिनवाद कि माओवाद ?
लेनिनवाद र माओवादको भेद के हो ? यो विषयमा कम्युनिष्टहरू बढी नै जानकार छन् । यिनीहरू बीच समयको भेद छ । लक्ष्यको भेद छ । शैली र संस्कृतिको भेद छ । यो यस्तो भेद हो, जसले धेरै कुरा अलग बनाउँछ । एमाले आफूलाई लेनिनवादी पार्टी बताउँछ । माओवादी केन्द्र माओवादी पार्टी हो । लेनिनवादी हुनु र माओवादी हुनुमा तिलको हैन, पहाडको फरक छ । मूलत: लेनिनवाद सर्वहारा क्रान्ति र समाजवाद निर्माणको विचार हो । माओवाद जनवादी क्रान्ति र पुँजीवाद निर्माणको विचार हो । लेनिनवादले क्रान्तिको मुख्य शक्ति मजदुर वर्गलाई ठान्छ । लेनिन भन्छन्, ‘कम्युनिष्ट पार्टीले मजदुर विद्रोहको नेतृत्व गर्नुपर्छ’ । लेनिनवाद ‘जनवादी केन्द्रीयता’मा विश्वास गर्छ । साम्राज्यवादी युगमा सर्वहारा क्रान्तिको वैचारिक संरचना नै लेनिनवाद हो । यता माओवादीहरू किसानलाई क्रान्तिको मुख्य शक्ति मान्छन् । माओले गुरिल्ला युद्धका नियमहरूको विकास गरे ।
गाउँले सहर घेर्ने रणनीति बनाए । लेनिनको संघर्षको केन्द्र थियो– सहर । माओले चिनमा राष्ट्रिय मुक्ति आन्दोलन चलाए । लेनिनले बोल्सेभिक क्रान्तिका सहयात्री देशहरूलाई सोभियत संघमा मिलाए । उनले राष्ट्रिय मुक्तिलाई आत्मनिर्णयको ‘थेसिस’भित्र राखे । भनिन्छ, लेनिनका उत्तराधिकारीहरूले सोभियत संघमा रूसी सभ्यताको प्रबद्र्धन गरे । कालान्तरमा सोभियत संघ सर्वहारा अन्तर्राष्ट्रियवादबाट च्युत भयो । यो सामाजिक साम्राज्यवादमा फेरियो । माओले निरन्तर सर्वहाराकरणको नाममा ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’ सञ्चालन गरे । सर्वहारा सांस्कृतिक क्रान्तिलाई लेनिनवादीहरू ‘चरम उग्रवाद’ ठान्छन् ।
माओवादीहरू मूलत: ‘एन्टागोनिष्टिक कन्ट्राडिक्सनमा’ विश्वास गर्छन् । यसको अर्थ हो, समाजमा वर्गहरू हुन्छन् र यिनीहरू कहिल्यै मिल्दैनन् । यसैले वर्ग सम्मिलन होइन, वर्ग संघर्षबाट मात्र न्याय स्थापित हुन्छ । यो संघर्ष सशस्त्र हुन्छ । सशस्त्र पार्टीले मात्र यस्तो संघर्षको नेतृत्व गर्न सक्छ । त्यसो त माओवादीहरू ठान्छन् कि माओवाद विश्व क्रान्तिको सबैभन्दा ‘उच्च वैचारिक संश्लेषण’ हो । यो माक्र्सवादको लेनिनवादभन्दा विकसित प्रयोग हो । यसलाई विश्यब्यापीकरण गर्नुपर्छ । तर लेनिनवादीहरू ठान्छन्् कि ‘माओवाद’ भन्नु दर्शनको सार्वभौमिकता नबुझ्नु हो । विचारको सान्दर्भिकता नबुझ्नु हो । उनीहरूको अर्थमा माओवाद हैन, विचारधारा भन्नुपर्छ । किनभने माओवादले विश्वब्यापी सान्दर्भिकता पुष्टि गर्दैन । यो क्रान्तिको चिनियाँ प्रयोगमात्र हो । नेपालमै पनि एमालेहरू भन्थे कि माओवाद उग्रवामपन्थी विचार हो । यसलाई नेपालमा लागू गर्न सकिंँदैन ।
सन् १९८४ मा रिम स्थापना भयो । यो माओवाद मान्नेहरूको विश्व संगठन हो । रिममा अमेरिकन माओवादीहरूको नेतृत्व छ । रिभोल्युसनरी कम्युनिष्ट पार्टी अफ युएसए, कम्युनिष्ट पार्टी अफ पेरु लगायत नेपाली माओवादी पनि यसका सदस्य छन् (?) । रिमले ‘ब वर्ड टु विन्ड’ पत्रिका निकाल्छ । यसको अनलाइन संस्करण पनि छ । जो माओवाद र सर्वहारा सत्ताको पैरवी गर्छ । नेपालका सम्बन्धमा पनि यसले अनेकौं विश्लेषण प्रकाशित गरेको छ । यता एमाले समाजवादी आन्दोलनमा छ । यो समाजवादी विश्व मञ्चहरूमा संलग्न हुन्छ । यी दुई पार्टी विगत ४० वर्षदेखि फरक ‘स्कुलिङमा’ छन् । अब प्रश्न गरौं, के एमालेहरू जबज, लेनिनवाद र संसदीय राजनीति छोड्न तयार छन् ? के माओवादीहरू माओवाद, एक्काइसांै शताब्दीको जनवाद र सर्वहारा सत्ता छोड्न तयार छन् ? अन्यथा यी दुई विचार एउटै पार्टीमा कसरी अटाउँछन् ?
एमाले कस्तो पार्टी ?
नेपाल कम्युनिस्ट पार्टीको झापा जिल्ला कमिटी २०१७ सालमै गठन भएको हो । २०२२ र २०२५ सालमा यसको दुईपटक पुनर्गठन भयो । तर भनेजस्तो काम भएन । झापामा क्रियाशील जिल्ला नेताहरू पार्टी केन्द्रको गतिहीन र भुत्ते शैलीप्रति असन्तुष्ट थिए । परिणाम, २०२७ सालमा झापा जिल्ला कमिटीले आफ्नै पार्टीको केन्द्रसंँग बगावत गर्यो । उसले किसान आन्दोलन उठाउने र राज्यसँग सशस्त्र प्रतिकार गर्ने निर्णय गर्यो । यो निर्णयसँगै उसको पार्टी केन्द्रसँग सम्बन्ध तोडियो । झापाली युवाहरूमा नक्सलवादी आन्दोलन र चारू मजुमदारको प्रभाव थियो । झापाली कम्युनिस्टहरू चीनमा माओको नेतृत्वमा भएको दीर्घकालीन जनयुद्धलाई नेपालमा लागू गर्न चाहन्थे । रमाइलो त के भने ‘चिनियाँ क्रान्तिको बाटो हाम्रो पनि बाटो, चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’ भन्ने उनीहरूको नारा थियो । चारुको चर्चित ‘वान एरिया, वान युनिट, वान एक्सन’लाई झापालीहरूले अवलम्बन गर्न खोजे । ज्यामिरगढी, धुलाबारी, गरामनी, धाइजन, दुवागढी, शनिश्चरे लगायतमा एक्सनहरू भए । राज्य आतङ्क तीव्र बन्यो । चर्को दमनकै बीच २०३५ सालमा नेकपा (माले) को गठन भयो । यही नै एमालेको मुख्य धार हो ।
माले पार्टीमा निकै चाँडो–चाँडो वैचारिक पुनर्गठन चल्दै गयो । २०३७ असोजमा भएको पार्टीको सातांै बैठकले ‘देशमा जबर्जस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ’ भन्ने आफ्नो विश्लेषणमाथि पुनर्विचार गर्यो । तत्काल सशस्त्र सङ्घर्षको कार्यनीति बदल्यो । जनआन्दोलन र जनसङ्गठन निर्माणका काम अगाडि बढायो । २०४६ सम्म आइपुग्दा नेकपा (माले) को प्रभाव देशव्यापी बन्यो । २०४७ पुसमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भयो । एमाले बन्यो । एकतापछि २०४९ माघमा एमालेको पाँचौं महाधिवेशन सम्पन्न भयो । पार्टीका महासचिव मदन भण्डारीले प्रस्ताव गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) राजनीतिक कार्यक्रमको रूपमा पारित भयो । एमाले २०३५ सालको माले रहेन ।
मदन भण्डारीले जबज निर्माणका लागि खास आधारहरूमाथि ध्यान दिएको देखिन्छ ।
मूलत: सोभियत सङ्घ, पूर्वी युरोप, फिलिपिन्स, इन्डोनेसिया, श्रीलङ्का, कम्बोडिया र पेरुका अनुभवहरूबाट भण्डारीले अनेकौं शिक्षा लिए । सबैलाई थाहा छ कि १९९० पछिको उदार लोकतन्त्रको आँधीले बडेबडे समाजवादी देशहरू ढले । उता सन् १९३० मा स्थापित कम्युनिस्ट पार्टी अफ फिलिपिन्स आफ्नो उग्र हठका कारण विघटनमा गयो । इन्डोनेसियाको कम्युनिस्ट आन्दोलन आफ्नै उग्र कार्यदिशामा सकियो । इन्डोनेसियामा सुरुका दिनतिर त्यहाँको कम्युनिस्ट पार्टीले राष्ट्रपति सुकार्नोसँग मिलेर सुधारोन्मुख कामहरू गर्यो । तर शक्तिको तीव्र लालसाबाट उनीहरूले केही जर्नेलहरूसँगको मिलेमतोमा सत्ता विप्लवको प्रयत्न गरे । त्यसले कत्लेआम सिर्जना गर्यो । १० लाखभन्दा धेरै मारिए । १९६६ मा पार्टी महासचिव लगायत ७ जनालाई फाँसी दिइयो । त्यसैगरी श्रीलङ्काको जनता विमुक्ति पेरामुना छिन्नभिन्न बन्यो । कम्बोडियामा खमेरुजहरू सकिए । पेरुको साइनिङ पाथ कमजोर भयो ।
निश्चय नै ‘जबज’ प्रस्ताव गरिरहँदा भण्डारीले यावत घटनाबाट शिक्षा लिए । त्यसैले पाँचौं महाधिवेशनमा एमालेले नारा बनायो, ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौं ।’ कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण एमालेको पछिल्लो विशेषता हो । मदन भण्डारीमा कार्ल काउत्स्कीको जबर्जस्त प्रभाव देख्न सकिन्छ । कार्ल काउत्स्की दोस्रो अन्तर्राष्ट्रियका नेता थिए । उनले सन् १८८३ बाट पहिलो माक्र्सवादी पत्रिका ‘नयाँ युग’को सम्पादन थाले । ‘नवयुग’ नामबाट एमालेको पनि मुखपत्र निस्कन्छ । सुुरुका दिनमा लेनिन काउत्स्कीलाई माक्र्सवादका सर्वश्रेष्ठ व्याख्याता मान्थे । तर अक्टोबर क्रान्ति, संविधानसभाको विघटन, संसदीय सङ्घर्ष र निरन्तरको क्रान्ति आदि विषयमा लेनिन र काउत्स्कीबीच कुरा मिलेन । त्यसपछि उनीहरू एकअर्काका विरुद्ध खुलेर लागे । काउत्स्की शान्तिपूर्ण सङ्घर्षलाई जायज मान्थे, लेनिन त्यस्तो कुरामा संशोधनवाद देख्थे । लेनिनले ‘राज्यसत्ता र क्रान्ति’ लेखे । यो कृति मूलत: काउत्स्कीका मतहरूको खण्डन थियो ।
लेनिनको विचारमा संसदीय व्यवस्था पुँजीवादको देन हो । यसर्थ संसदीय प्रजातन्त्र सर्वोच्च व्यवस्था होइन, वर्ग राज्यको अभिव्यक्ति मात्र हो । यसर्थ संसदीय प्रजातन्त्रले सर्वहारा वर्गको हित गर्दैन । सर्वहारा वर्गका लागि सर्वहारा अधिनायकत्व सहितको समाजवाद आवश्यक हुन्छ । त्यसैले पुँजीवादी प्रजातन्त्र र संसद्वादको विघटन आवश्यक छ । काउत्स्कीले ‘सर्वहारा वर्गको तानाशाही’ शीर्षक पुस्तकबाट लेनिनलाई जवाफ दिए । उनले भने, ‘राजनीतिक सङ्घर्षको लक्ष्य संसद्मा बहुमत प्राप्त गर्नु हो । त्यसैले कम्युनिस्टहरू संसद्मा पुग्नुपर्छ र संसद्लाई यथार्थमै जनताको मालिक बनाउनुपर्छ ।’ लेनिन ‘पुँजीवादी राज्य ध्वस्त गर्न चाहन्थे’, तर काउत्स्की ‘पुँजीवादी राज्यलाई प्रयोग गर्दै समाजवाद सम्भव छ’ भन्ने मान्थे । लेनिन शान्तिपूर्ण सङ्घर्षलाई अस्वीकार गर्थे । तर काउत्स्की सम्भव भएसम्भ शान्तिको बाटोमा हिँड्नुपर्ने ठान्थे । यस्तै बहस र वादविवादमा काउत्स्कीसँग आगो भएका लेनिनले पुस्तकै लेखे, ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ ।
मदन भण्डारीले भने एमालेमा लेनिन र काउत्स्कीलाई सँगै उभ्याउने कोसिस गरे । उनले एमालेलाई लेनिनवादीभन्दा काउत्स्कीवादी पार्टी बनाए । त्यसो भए के काउत्स्की र माओ एउटै पार्टीमा अटाउँछन् ? यो निकै तितो प्रश्न हो । कम्तीमा ती मान्छेहरूलाई यो प्रश्न रुचिकर नहोला, जसले हिजो जबजलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त भने । उनीहरू मान्छन् कि जबज नेपाली क्रान्तिको प्रस्थानबिन्दु मात्र होइन, पूर्णता हो । यस्ता मान्छेहरूका लागि जबज वेद, कुरान, बाइबल सबै थोक हो । यसको ‘कमा’ र ‘फुलस्टप’सम्म पनि फेर्नु हुँदैन । यसो गर्दा मदनको आत्माले सराप्छ । यस्तो विचार राख्ने एमालेहरू मूलत: के.पी. कमरेडको गुटमा छन् । त्यसो भए के जबजलाई नेपाली क्रान्तिको सिद्धान्त मानेर माओवादीहरू एमालेमा विलय होलान् ?
माओवादी केन्द्र कस्तो पार्टी ?
२०१९ वैशाखमा नेकपाको तेस्रो सम्मेलन आयोजना गरियो । सम्मेलनमा मोहनविक्रम सिंहले संविधानसभा निर्वाचन र गणतन्त्रको प्रस्ताव गरे । उनी चिनियाँ शैलीको क्रान्तिका समर्थक थिए । सम्मेलनले उनको विचार पारित गरेन । त्यसपछि उनले अलग्गै केन्द्रीय न्युक्लियस निर्माण गरी पार्टीलाई नयाँ शिराबाट सङ्गठित गरे । उनकै अगुवाइमा २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन भारतमा आयोजना गरियो । नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बन्यो । नेकपाको त्यही धार नै वर्तमान (माओवादी केन्द्र) को प्रारम्भिक रूप हो । माओवादी केन्द्रको पछिल्लो वैचारिक ‘पोजिसन’ के हो ? थाहा छैन । उसलाई बुझ्न या त पुराना थेसिसहरू पल्टाउनुपर्छ या नेताका भाषणहरू सुन्नुपर्छ । जसमा कुनै संगति भेटिँदैन ।
यस्तो लाग्छ, विचार निर्माण, संश्लेषण र विकासमा यो पार्टी निकै भुत्ते छ । पछिल्ला दस्तावेजहरूमा यो पार्टीले माओवादको वैचारिक आलोकमा एक्काइसौं शताब्दीको जनवाद स्थापना गर्ने प्रस्ताव गर्छ । नेताहरू पार्टीका आन्तरिक प्रशिक्षणहरूमा माओवादी हुनुको महत्त्वलाई पटक–पटक अभिव्यक्त गर्छन् । तत्कालीन नेकपा (माओवादी) को सैद्धान्तिक प्रस्तावनाले भन्छ, ‘सशस्त्र सङ्घर्षप्रतिको आलटाल, उपेक्षा र घृणा सारत: जनताप्रतिको गद्दारी हो ।’ त्यसैले ‘सर्वहारा वर्गले कानुनी सङ्घर्ष होइन, दीर्घकालीन सशस्त्र जनयुद्ध सञ्चालन गर्नुपर्छ । गाउँले सहर घेर्नुपर्छ । संसदीय निर्वाचनमा सहभागी भएर वा बुर्जुवा प्रजातन्त्रको रक्षा र विकास गरेर क्रान्ति सम्पन्न हुँदैन ।’ यिनै सैद्धान्तिक मान्यतामा उभिएर माओवादीहरूले राजतन्त्र, संसदीय निर्वाचन र बुर्जुवा प्रजातन्त्र विरुद्ध जनयुद्ध सुरु गरे ।
यो युद्धलाई एमालेले कहिल्यै जनयुद्ध भनेन । बदलामा माओवादीले एमालेलाई भन्यो, ‘यो संशोधनवादी पार्टी हो । जबज सुधारवादी विचार हो ।’ माओवादीहरू मान्छन् कि ‘सशस्त्र बलद्वारा सत्ताकब्जा गर्नु क्रान्तिको केन्द्रीय कार्यभार हो ।’ यसमा अझै नेपाली माओवादीहरूले पुनरावलोकन गरेका छैनन् । त्यसो त संगठनको सन्दर्भमा पनि माओवादीहरू उग्र छन् । माओका चर्चित दुई उक्ति ‘राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ र ‘जनसेना नभएको कम्युनिस्ट पार्टीसँग आफ्नो भन्नु केही हुँदैन’बाट हिजो माओवादीहरू प्रभावित थिए । यसैका आधारमा हिजो उनीहरूले जनसेना निर्माण गरे । जनयुद्ध गरे र ‘जनवादी गणतन्त्र नेपाल’को स्थापनाका लागि लडे । यस्तो विचार एमालेले २०३७/३८ सालतिरै परित्याग गरेको हो । तर अझै माओवादी स्कुलमा यही विचारलाई पढाइन्छ र नेताहरू आफू नै सक्कली माओवादी भएकोमा गर्व गर्छन् ।
त्यसो भए के नेपालमा अझै ‘जनगणतन्त्र’ नेपाल स्थापना गर्ने ‘स्कोप’ बाँकी छ ? माओवादीहरूले माओवादको स्थगनमात्र गरेका हुन् कि यसप्रति उनीहरूको मोह छ ? यस्ता प्रश्नको जवाफ माओवादी केन्द्रका पछिल्ला दस्तावेजहरूमा भेटिँदैन । एमाले संसदीय संघर्षलाई संघर्षको मुख्य मोर्चा मान्छ । तर माओवादीहरू ठान्छन्, क्रान्तिकारीहरूका लागि संसद्मा भाग लिने काम दक्षिणपन्थतिरको पतन हो । त्यसैले सच्चा क्रान्तिकारीहरू संसदीय व्यवस्थाको प्रयोग नभई यसको भण्डाफोर गर्नुपर्छ । माओवादीका विचारमा ‘पहिलो विश्वयुद्ध अघिको संसदीय प्रणाली धेरथोर जनताको पक्षमा थियो । तर विश्वयुद्धले साम्राज्यवादको विकास गर्यो, त्यसपछिको संसदीय व्यवस्था सम्पूर्ण रूपले साम्राज्यवादको सेवामा समर्पित छ । त्यसैले यस विरुद्ध सशस्त्र युद्ध नै सच्चा क्रान्तिकारी पहिचान हो ।’ माओवादी मान्छन्, ‘संसदीय व्यवस्था प्रगतिशील हुने जमाना महान अक्टोबर समाजवादी क्रान्तिपछि समाप्त भएको छ ।’ यही विचारको प्रभावमा माओवादीहरूले २०४६ सालमा स्थापित संसदीय प्रजातन्त्रको विपक्षमा आफूलाई उभ्याए । आज पनि उनीहरूको ‘थेसिसमा’ यावत विश्लेषण पढ्न पाइन्छ । जनयुद्धकालमा माओवादीले नेपाली कम्युनिस्ट आन्दोलनको मूल समस्या नै ‘संसदीय पुच्छरवाद’ ठानेको देखिन्छ ।
उनीहरूको ठहर छ, ‘चुनाव उपयोग नीति पनि अन्तत: समर्पण नै हो ।’ माओवादीहरू वर्ग सङ्घर्षलाई दीर्घकालीन जनयुद्धको पथबाट विचलित गर्ने संसदीय भ्रमबाट नेपालको कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने ठान्थे । माओवादीहरू मान्छन् कि नेपालमा माओवादी हुन नसक्नेहरू माक्र्सवादी र लेनिनवादी दुबै हुँदैनन् । के त्यस्तै हो त ? यसमा माओवादी केन्द्रका नेताहरू आज के भन्छन् ? माओवादीहरू कुनै बेला ‘प्रचण्डपथ’को कुरा गर्थे । उनीहरूको निष्कर्ष थियो, ‘प्रचण्डपथ नेपालमा जनयुद्धको थालनी, विकास र विस्तार सम्बन्धी सम्पूर्ण मान्यताहरूको संश्लेषण हो’ । यस्ता विषयहरूमाथि एमालेको स्वीकार र अस्वीकार के छ ? हिजो एकअर्कोलाई लगाएका आरोपहरूको स्वीकारोक्ति, पुनर्पुष्टि, आलोचना वा खण्डन के हो ? पछिल्ला विचारहरूको संगतिपूर्ण विवेचना र नयाँ प्रस्तावहरूमाथि बहसविना कसरी नयाँ विचारको जन्म हुन्छ ?
एमाले र माओवादी केन्द्रबीच केही सांगठनिक भिन्नता पनि छन् । एमाले सांगठनिक रूपमा सबैभन्दा व्यवस्थित र चलायमान पार्टी हो । यसले आंशिक रूपमै सही अन्तरपार्टी लोकतन्त्रको अभ्यास गर्छ । यसका कार्यकर्ताहरू चलायमान छन् । तर माओवादी पार्टी सबैभन्दा अव्यवस्थित र भद्रगोल छ । अन्तरपार्टी लोकतन्त्रबारे यो पार्टीका नेता/कार्यकर्ताहरू सांस्कृतिक रूपमै उदासीन छन् । यो वेमेलको व्यवस्थापन गर्ने संगठनात्मक सिद्धान्त र सूत्र के हो ? के यी पार्टीहरूले केन्द्रीयता निर्देशित जनवादलाई विस्थापित गर्दैछन् ? के अब अन्तरपार्टी लोकतन्त्र प्रभावशाली हुन्छ ? कि गुटहरूको सन्तुलन र व्यवस्थापन नै अब बन्ने पार्टीको संगठनात्मक सिद्धान्त हो ? कतिपय व्यावहारिक सन्दर्भहरू छन् । जस्तो– एमालेमा माओवादीहरूले उठाएका जातीय पहिचान र प्रगतिशील राष्ट्रवादमाथि भिन्न दृष्टिकोणहरू छन् । एमाले जनजाति र मधेसका पछिल्ला मुद्दाहरूमा माओवादीभन्दा संकीर्ण छ ।
माओवादीहरू मूलत: हरेक क्षेत्रमा क्रमभङ्ग गर्न चाहन्छन् । माओवादीहरू उपयोगितावादी छन् । नयाँ प्रगतिशील संस्कृतिको पक्षमा वकालत गर्ने माओवादीहरू धर्म, संस्कार, संस्कृति र सामाजिक मान्यतालाई उदार ढङ्गले बुझ्ने र व्याख्या गर्ने सामथ्र्य राख्दैनन् । चिनियाँ सांस्कृतिक क्रान्तिलाई आदर्श ठान्ने उनीहरूले सांस्कृतिक अराजकताबाट समाजलाई झन्डै छिन्नभिन्न बनाए । आर्थिक अराजकता माओवादीहरूको अर्को नकारात्मक पक्ष हो । यस्तो अराजकताले राज्यसत्तालाई नै भ्रष्ट बनाउने खतरा हुन्छ । सामुदायिक उत्पादनका नाममा पार्टी कार्यकर्ताहरूलाई पथभ्रष्ट बनाउने खतरा रहन्छ । यसमा कसरी नियन्त्रण हुन्छ ? त्यसो त भूमिसुधार र सामाजिक उत्पादन पद्धतिमा पनि यी पार्टीका भिन्न विचार छन् । यस्ता अनेकौं विषय छन्, जसले एमाले र माओवादी केन्द्रलाई एकअर्कोबाट अलग बनाउँछन् । यिनीहरूलाई जोड्ने वैचारिक, राजनीतिक र व्यावहारिक उपायहरू के हुन्, कतै दृष्टिगोचर हुँदैनन् । कान्तिपुरबाट