Logo
३ आश्विन २०८१, बिहीबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको बर्हिगमन आज, ओली तीन वर्षका लागि प्रधानमन्त्री बन्दै

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिर्दै छन् । आज अन्तिम मन्त्रिपरिषद् बैठक बस्ने र त्यसलगत्तै देशबासीका नाममा सम्बोधन गरि उनले पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी रहेको बुझिएको छ ।

यता, एमाले अध्यक्ष केपी ओली तीन बर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् । माओवादी–एमालेबीच भएको समझदारी अनुरुप ओलीलाई तीन वर्षका लागि प्रधानमन्त्री बनाउनका निम्ति आज वाम गठबन्धनले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष गठबन्धनले प्रधानमन्त्री पदमा दाबी गर्न लागेको उच्च स्रोतको दावी छ ।

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने निर्णय गरिसकेको छ ।

एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने यसअघिनै सहमति जुटिसकेपछि यस्तो तयारी गरिएको हो ।

उक्त सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गरी ओलीलाई प्रधानमन्त्री बनाउन दाबी गर्दैछन् ।

विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ ।

संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । यससँगै देशले छिट्टै नयाँ प्रधानमन्त्रीका रुपमा केपी ओलीलाई पाउनेछ ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्