पूर्वराष्ट्रपतिले खोजे नयाँ सवारी : ४० लाखमा अर्को गाडी किन्ने सरकारी गृहकार्य
काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ गाडी खोजेका छन् । उनले नयाँ गाडी खोजेपछि सरकारले ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ ।
राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर, यादवले पुनः अर्को गाडी आवश्यक परेको बताएपछि गृहमन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।
अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन् । गृह मन्त्रालय सवारी शाखाका एक उपसचिवले पूर्वराष्ट्रपतिको इच्छा अनुशार उनलाई थप अर्को एक गाडी दिने सरकारले निर्णय गरेकाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
पूर्वराष्ट्रपतिका अतिथि र पाहुना आउँदा कतिपय अवस्थामा ल्याउन र पुर्याउन जानुपर्ने अवस्था भएकाले अर्को गाडी आवश्यक परेको यादवका निजी सचिवालय बताउछ ।