Logo
९ मंसिर २०८१, आईतबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमूल्य जडीबुटी गाँजा : नेपालमा लगाइएको प्रतिबन्ध किन नहटाउने ?

  • अमेरिकाका २५ राज्यमा औषधिका रूपमा, १८ राज्यमा उपभोग गर्न र आठओटा राज्यले मनोरञ्जनात्मक गतिविधिमा गाँजा प्रयोगको अनमुति दिन थालेका छन् । पछिल्लोपटक क्यालिफोर्नियाले मनोरञ्जनात्मक गतिविधिमा गाँजाको प्रयोगलाई कानूनी मान्यता दिने निर्णयले सन् २०२१ सम्ममा ४० अर्ब डलर राजस्व सङ्कलन र ४ लाख रोजगारी सृजना गर्ने अपेक्षा छ । २०१७ मा अमेरिकाले गाँजाबाट १६ अर्ब डलर आम्दानी गरेको थियो । अमेरिकाका १६ प्रतिशत मानिसले गाँजाको सेवन गर्छन् ।
  • २०१६ मा औषधि उपाचारका लागि गाँजाको प्रयोगलाई कानूनी मान्यता दिएको अष्ट्रेलियाले विश्वकै सबैभन्दा ठूलो गाँजाबाट बनेका औषधि निर्यातकर्ता बन्ने महत्त्वाकाङ्क्षा प्रकट गरेको छ ।
  • क्यानडामा अहिले ४० ओटा सूचीकृत उत्पादक कम्पनीहरूले औषधि बनाउन औद्योगिक स्तरमा गाँजा उत्पादनको अनुमति लिएका छन् । अन्तरराष्ट्रिय बजारमा गाँजा निर्यात गर्ने क्यानडा र नेदरल्याण्ड मुख्य देश हुन् ।
  • केही समयअघि उरूग्वे र इजरायलले पनि गाँजा निर्यातकर्ता बन्न आवश्यक कदम चालिसकेका छन् । यीबाहेक बेल्जियम, कोलम्बिया, जमैका, स्पेन, पेरू, अर्जेण्टिनामा यसको सीमित उपभोगमा छूट छ । चिलीमा वैधानिक रूपमै गाँजा खेती हुन्छ । भर्खरै भारतमा रहेको बाबा रामदेवको पतञ्जलि आयुर्वेदले गाँजाबाट औषधि बनाउने तयारी थालेको छ ।                                                                                                                                                                                                                                          काठमाडौं : आज महाशिवरात्रि पर्व हो । धेरैका लागि आज गाँजा खाने उत्सव जस्तो लाग्छ । मनोरञ्जनका लागि सेवन गरिने गाँजा यसपटकदेखि पशुपति क्षेत्रमा समेत वर्जित छ । भगवान् शिवको बुटीका रूपमा मानिने गाँजा खासमा नेपालको आर्थिक विकासमा सहयोग पुग्ने एउटा प्रमुख जडीबुटी हो । तर, नेपालमा गाँजालाई लागू पदार्थका रूपमा पूर्ण प्रतिबन्ध लगाएको ४० वर्ष बितेको छ । 

    अन्तरराष्ट्रिय कानूनले नेपालसँगै विश्वका धेरै देशमा गाँजाको प्रयोग वर्जित गरेको छ । तर, माथि उल्लेख गरेझैं विकसित राष्ट्रहरूले गाँजाबाट बनाइएका औषधि निर्यात गरेर नेपालको वार्षिक बजेटको तीन गुणाभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएका छन् । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले औषधि प्रयोजनका लागि केही खुकुलो नीति लिए पनि सरकारले पूर्ण बन्देजको नीति लिएका कारण औषधिजन्य प्रयोजनका लागि समेत गाँजाको प्रयोग बन्द छ । पहिलेपहिले गाँजालाई लागूऔषध मानेर विश्वमा कडाइ गर्ने नीति लिएका विकसित देशले गाँजाबाटै अर्थतन्त्र उकास्न थालेपछि पछिल्ला दिनमा नेपालमा पनि गाँजा माथिको प्रतिबन्ध हटाउन बहस शुरू भएको छ ।

    सन् १९६१ मा बनेको लागूपदार्थसम्बन्धी विश्व अभिसन्धिबमोजिम राष्ट्रसङ्घ र अमेरिकी दबाबमा नेपालमा १९७६ मा लागूऔषध नियन्त्रण ऐन जारी भयो । ऐन जारी हुनुअघि नेपालमा अहिले चुरोटझैं विना रोकतोक पाइने गाँजा खानकै लागि १९६०–७० को दशकमा अमेरिकी हिप्पी पर्यटकहरूको नेपालमा बाक्लो आगमन हुने गथ्र्याे । नेपालमा पाइने ‘अर्गानिक गाँजा’ सेवनका लागि असन र न्यूरोड क्षेत्र त्यति बेलाका ‘ब्राण्डेड मार्केट’का रूपमा उदाएका थिए ।

    नेपालमा रुखो, सुक्खा र भिरालो जमीनमा समेत गाँजाको उत्पादन हुने गर्छ । गाँजाका लागि उर्बर मानिएका तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदेबालीका रूपमा धेरै अघिदेखि गाँजा उत्पादन हुन्थ्यो । सूक्ष्म अध्ययन गर्ने हो भने पहिले आत्मनिर्भर रहेका रूकुम, रोल्पाका स्थानीय समुदाय गाँजामाथिको प्रतिबन्धसँगै आर्थिक परनिर्भरताको अवस्थामा पुगेको देखिन्छ । ४० वर्ष अगाडिसम्म त्यहाँका बासिन्दाको आयको मूलस्रोत नै गाँजा थियो । नेपालमा हजारौं वर्षअघिबाट अपनाइएको आयुर्वेदिक औषधिको उत्पादन अहिले पश्चिमाहरूले सिकेर गाँजाको प्रयोग र औषधि उत्पादनलाई तीव्रता दिन थालेका छन् । नेपाल उनीहरूले उत्पादन गरेको औषधि खरीद गर्ने अवस्थामा पुगेको छ ।

    प्रतिबन्ध हटाऊ

    भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि नेपालमा रहेको कालो धनलाई करको दायरमा ल्याएर एकपटकलाई मनि लाउण्डरिङसम्बन्धी कानून परिमार्जन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । र, यसको तीव्र आलोचना पनि गरिएको थियो । तर, नयाँ बन्ने सरकारले लागूपदार्थसम्बन्धी ऐन परिमार्जन गरेर गाँजालाई औषधि उत्पादनका लागि अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिबन्ध हटाउने गरी पहल गरेमा नेपालमा वार्षिक अर्बौंको आम्दानी गर्न सकिने देखिन्छ । पछिल्ला दिनमा अन्तरराष्ट्रिय क्षेत्रमा जसरी गाँजामाथि प्रतिबन्ध हट्दै गएको छ त्यसै गरी नेपालमा पनि प्रतिबन्ध हटाउन सकिन्छ । गाँजालाई लागूऔषधका रूपमा नभएर औषधिजन्य वस्तु उत्पादनका लागि अनुमति लिनुपर्छ ।

    औषधिमा गाँजाको प्रयोग

    आयुर्वेदिक औषधि उत्पादनको नियामक निकाय सिंहदरबार वैद्यखाना विकास समितिले वर्षौं पहिलेदेखि गाँजा र अफिमबाट आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको थियो । ती औषधिको गुणस्तर अहिलेका ‘एण्टिबायोटिक’ औषधिभन्दा पनि प्रभावकारी र ‘साइडइफेक्ट’विहीन थिए । अपच, अनिद्रा, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्या, नैराश्य, आँखाको ग्लुकोमा, क्यान्सर सेल मार्ने, अल्जाइमर्स, शीघ्र स्खलनजस्ता रोग निको पार्न गाँजाबाट बनाइएका औषधि अचूक मानिन्छ । वैद्यखानाले गाँजाको प्रयोग गरेर १० प्रकारका औषधि उत्पादन गर्दै आएकोमा अहिले त्यो बन्द छ । झाडापखालाका लागि वैद्यखानाले बनाएको ‘रातोबरी’ र यौन क्षमता बढाउने ‘पूर्णचन्द्रोदय रस’बराबरको गुणस्तरीय औषधि अरू नरहेको सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेल बताउँछन् । लामो समय आयुर्वेद चिकित्सक भएर काम गरेका खरेलको अनुभवमा गाँजाबाट बनाइएका ती औषधिको उत्पादन हुन सके नेपालमा मात्रै खपत नभएर विदेशमा समेत निर्यात गरी राम्रो आम्दानी लिन सकिन्छ । किन बन्द भयो त उत्पादन ? उनी भन्छन्, ‘राज्यले गाँजाको उत्पादन, प्रशोधन, आयातनिर्यात र विक्रीवितरणमा कडाइ गरेपछि कच्चा पदार्थ पाउन छाडियो, औषधि उत्पादनमा ऐन खुकुलो भए पनि रिस्क लिएर कसैले पनि यसको उत्पादन गर्न मान्दैनन् । अहिले गाँजा र अफिमबाट बन्ने आयुर्वेदिक औषधि बन्द छन् । यसको सट्टामा आयात गरिएका विभिन्न नामका भिएग्रा र अन्य औषधिले बजार ओगटेका छन् ।’

    फाइदा नै धेरै

    राष्ट्रसङ्घको २००५ को अनुमानमा विश्वमा गाँजाको कुल बजार १ सय ४१ खर्ब रुपैयाँबराबरको थियो । गाँजाबाट विभिन्न मुख्य र सहायक औषध रसायनका साथै अन्य उपयोगी वस्तुहरूको समेत उत्पादन हुन्छ । गाँजाको बोटको जरादेखि पातसम्म कुनै पनि भाग खेर नजाने र खेतको उब्जाउ क्षमतामा अझ वृद्धि हुने विज्ञहरू नै बताउँछन् । छोटो अवधिमै उत्पादन तथा सजिलै प्रशोधन गरेर सम्पन्न देशलाई समेत निर्यात गर्न र आर्थिक उपार्जन गर्ने उपायका रूपमा गाँजाको सदुपयोग गर्न सकिन्छ । विभिन्न अध्ययनले गाँजाबाट अन्य वस्तुको तुलनामा ४ देखि १० गुणा बढी कागज बनाउने कच्चा पदार्थ निस्किने देखाएका छन् ।

    नेपालमा जाँडरक्सी खाएर जति झैझगडा र आपराधिक गतिविधि भएका छन् । तर, गाँजा खानेबाट यस्ता घटना भएको सुन्नमा आएको पाइँदैन । बरु क्यान्सरजस्ता रोग न्यूनीकरण गर्न अन्य कूलतबाट छुटकारा पाउन गाँजा उपयोगी रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वार्षिक ६० लाख मानिस सुर्तीबाट बनेका चुरोट, खैनी आदि, ३३ लाख मादक पदार्थ र ३ प्रतिशत लागू पदार्थका कारण मृत्युवरण गर्छन् । गाँजाको सेवनबाट मृत्यु हुनेको सङ्ख्या नगण्य रहेको पाइन्छ ।

    गाँजाका फाइदा मात्रै होइन, प्रयोग गर्न नजाने यसले पुर्‍याउने हानि पनि छन् । गाँजाको सीधै प्रयोगले हृदयघात, धूँवाका रूपमा सेवन गर्दा श्वासप्रश्वास, बिर्सिने रोग लाग्ने हुन सक्छ । तर, चुरोट र रक्सी सेवनकर्ताको दाँजोमा गाँजाको सेवन निकै कम हानिकारक रहेको अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले पुष्टि गरिसकेका छन् । अत्यधिक व्यापारघाटा बेहोरिरहेको नेपालले पनि सरकारको निगरानीमा औषधि प्रयोजन र निर्यातका लागि गाँजामाथिको प्रतिबन्ध हटाउने हो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्