Logo
३१ भाद्र २०८१, सोमबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज महाशिवरात्रि : देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो

काठमाडौं : आज मंगलवार देशभर महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

केही मानिसले फागुन २ गते शिवरात्रि भनी हल्ला चलाए पनि नेपाल पञ्चांग निर्णायक समितिले लामो छलफलपछि मध्यरातमा चतुर्दशी परेका दिनलाई मानेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । शिवरात्रिको पूर्वसन्ध्यामा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज गुह्येश्वरीदेखि नयाँ बानेश्वरको छक्कुबक्कुसम्म शिवपार्वती रथ यात्रा निकालेको छ ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्