चमेलिया आयोजनाको उद्घाटन, ३० मेगावाट विद्युत राष्ट्रियमा जोडियो
दार्चुला : चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । शनिबार आयोजना स्थलमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउबाले आयोजनाको उद्घाटन गरे । पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने माघ १७ बाट अर्काे युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । योसँगै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५/१५ मेगावाट क्षमताका दुईवटा युनिट छन् ।
सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यो समयमा निर्माण लागत बढ्दा र सम्भाब्य बिजुली उत्पादन नहुँदा प्राधिकरणलाई कराडौंको नोक्सानी भयो । चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो यो आयोजनाको सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले पाएको थियो ।
आयोजनाको हेडवर्क्स लटिनाथ गाविसमा पर्दछ । त्यहाँ चमेलिया नदीलाई बाँध बाँधेर पानीलाई दुईवटा इन्टेकबाट डिसेल्टिङ बेसिन (बालुवा थिग्राउने पोखरी)मा जम्मा गरिएको छ । त्यहाँ संग्लिएको पानी मुख्य टनेलमा जान्छ ।
त्यसबाट फेरि पेन स्टक र बाइसर्केसन पाइप हुँदै दुईवटा युनिटमा पानी बाँडिन्छ । सो पानी पावरहाउसको टर्बाइनसम्म पुग्छ र ३० मेगावाट बिजुली उत्पादन हुन्छ । पावरहाउस भने हेडवर्क्सभन्दा ६ किलोमिटर टाढा शिखर गाविसको बलाँच भन्ने स्थानमा छ । हेडवर्क्सबाट पाँच डायमिटरको ८४३ मिटर लामो सुरुङ खनेर पावर हाउससम्म पानी लगिएको छ ।