Logo
२१ कार्तिक २०८१, बुधबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको पहिलो अपराधी सुपुर्दगी : यसअघि गोप्य रुपमा बुझाइन्थ्यो

काठमाडौं : पहिलोपटक कानुनी प्रक्रिया पुर्‍याएर नेपालले एकजना मोस्ट वान्टेड अभियुक्तलाई भारतमा पक्राउ गरी नेपाल ल्याएको छ । उनलाई शुक्रबार नेपाल ल्याइएको छ । यो दुई देशबीच पहिलोपटक भएको वैध सुपुर्दगी हो । यसअघि दुई देशका प्रहरीले पक्राउ गरेका अपराधीहरुलाई गोप्य रुपमा बुझाउदै आएको थियो । गुरुङलाई जन्मकैदको फैसला भइसकेको छ । नेपालको विमानस्थल प्रयोग गर्दा पक्राउ पर्ने डरले उनले भारतको विमानस्थल प्रयोग गरेका थिए ।

१६ वर्षअघि ठमेलको एक हत्यामा फरार रहेका आतिनी भन्ने मुखिया गुरुङलाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । २०५८ साल कात्तिक १८ मा उनी लगायतका व्यक्तिले ठमेलको जुलिया स्टुडियो ५४ डिस्कोमा सुवर्ण गुरुङको हत्या गरेका थिए । हत्यायता फरार रहेका उनको नाममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को पहलमा रेड कर्नर नोटिस जारी गरिएको थियो ।

प्रहरीले उनले प्रयोग गर्ने पासपोर्ट पत्ता लगाई इन्टरपोलको ब्ल्याकलिस्टमा राखेपछि उनी मंसिर २२ मा जयपुरमा पक्राउ परेका हुन् । भारतको जयपुर विमानस्थलबाट बैंकक जान लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि नेपाल प्रहरीले कानुनी प्रक्रिया पुर्‍याएर नेपाल ल्याउन प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार दिल्लीस्थित पटियाला अदालतले उनलाई नेपाललाई हस्तान्तरण गर्न मिल्ने आदेश दिएको थियो ।

२ महिना लामो प्रयासपछि उनलाई पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरीको इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्यले बताइन् । अदालतको आदेशपछि भारतीय प्रहरीले उनलाई सुपुर्दगी गरेको हो । सुपुर्दगीपत्रमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हस्ताक्षर छ । गुरुङलाई विदेशबाट पक्राउ गर्न सिआइबीले पहल गर्दै आएको थियो । भारतबाट ल्याइएका गुरुङलाई अदालतमा पेश गरिने सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए ।

 

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्