Logo
३ आश्विन २०८१, बिहीबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक ३ बलात्कृत : बिचौलियाले आर्थिक चलखेलमा घटना मिलाइदै 

काठमाडौं : दरबारमार्गको ल्याण्डमार्क होटलमा ७ माघमा एक किशोरीको सामूहिक बलात्कार भयो । कैलालीका केटा साथी शैलेश कार्कीले किशोरीलाई होटलमा बोलाएर अन्य तीन जना युवाहरू समेतर मिलेर सामूहिक बलात्कार गरेको पुष्टि भयो । गुपचुप रहेको यो घटना करिब एक हप्तापछि बाहिर आयो । घटना लुकाउन खोजेको आरोपमा दरबारमार्गका सई चन्द्र भण्डारी र इन्पेसक्टर लक्ष्मणसिंह ठकुरी निलम्बनमा छन् । डिएसपी तिलक भारती माथि पनि अनुसन्धान भइरहेको छ ।

दरबारमार्गको घटना बाहिरिएपछि लुकाउन खोजिएको सुनसरीकी १४ वर्षिया बालिका बलात्कारको अर्को घटनाबारे खुलासा भयो । इटहरीमा गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष २०१८ मनाउन गएकी बालिकालाई इटहरीको रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको थियो । प्रहरीले उक्त घटनालाई पनि गुपचुपमै राखेपछि इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर चिरञ्जीवी दाहाल र सुनसरीका एसपी विदानन्द माझी निलम्बनमा परेका छन् । बलात्कारमा संलग्न भनिएका धरानका जुकल लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ भने विराटनगरका मनिष श्रेष्ठ फरार छन् ।

यी दुई बलात्कारका प्रतिनिधि घटना मात्रै हुन् । प्रहरीमा परेको उजुरीलाई मात्रै आधार मान्ने हो भने हरेक दिन तीनजना महिला तथा किशोरीहरू बलात्कारको शिकार हुने गरेको तथ्यांक फेला परेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा १०८९ वटा बलात्कार घटनाको उजुरी दर्ता भएको छ । अझै प्रहरीसम्म आइनपुगी बिचैमा मिलापत्र भएका धेरै बलात्कार घटना हुन सक्ने प्रहरी स्वयम स्वीकार्छन् ।  प्रहरीकहाँ आइनपुग्दै कतिपय घटना मिलापत्रमा टुंगो लाग्ने गरेका हुन सक्ने प्रहरी प्रवक्ता मनोज न्यौपानेको अनुमान छ । ‘तराईतिरका बलात्कारका घटना अक्सर प्रहरीसम्म आइपुग्दैनन्,’ प्रवक्ता न्यौपानेले भने, ‘बिचौलियाले आर्थिक चलखेल गरेर यस्ता घटना मिलाउने गरेका छन् । नभए यो संख्या अझ बढ्ने देखिन्छ ।’

राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष शेष चाँदताराले केही दिनअघि एक कार्यक्रममा उजुरी नै नपरेका बलात्कारका घटना अझ भयावह हुने बताएकी थिइन् । बलात्कार गर्नेविरूद्ध कडा कानून भएकाले पनि कानूनी प्रक्रियासम्म पुग्न नदिई बिचैमा आर्थिक चलखेल बलात्कारका घटना लुकाउने गरेको उनको दाबी थियो । महिलाहरू यस विषयमा खुलस्त हुन नसकेका कारण पनि बलात्कारका घटना बाहिर आउन नसकेको महिला अधिकारकर्मीकहरू बताउँछन् । आत्मसम्मानमा चोट पुग्ने तथा कतिपय बलात्कारका घटना परिवार तथा आफन्तबाटै हुने गरेकाले बाहिर नआएको महिला अधिकारकर्मी बताउँछन् ।

यी सबै बलात्कार घटना बाहिर आउने हो भने दैनिक झण्डै १० जना बलात्कृत हुने तथ्यांक आउने महिला अधिकारकर्मीको दाबी छ । यसरी बलात्कृत हुने अधिकांशजसो १५/१६ वर्षका किशोरीहरू हुने गरेको प्रहरीले जनाएको छ । ग्रामीण भेग र गरिब परिवारका किशोरीहरू बढी बलात्कृत हुने गरेको प्रवक्ता न्यौपाने बताउँछन् । उनीहरू सहजै पुरूषलाई विश्वास गर्नाले बलात्कृत हुने गरेको प्रहरीले जनाएको छ ।

यस्तो छ चढ्दो ग्राफ
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हरेक वर्ष बलात्कारका घटना बढ्दै गएका छन् । अझ प्रहरीसम्म नआई मिलापत्र गर्ने चलन बढी भएकाले यो संख्या अझ बढ्ने देखिन्छ । आर्थिक वर्ष २०६९/७० मा ६७७ वटा बलात्कारका घटना भएका थिए । जसमध्ये पूर्वी नेपालमा सबैभन्दा बढी २ सय १७ वटा बलात्कार घटना भएको प्रहरीको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै १ सय २९ वटा बलात्कारका घटना प्रहरीको उजुरी परेको छ । सबैभदा कम सुदूरपश्चिममा ४० वटा बलात्कारका घटना बाहिर आएका थिए ।

आर्थिक वर्ष २०७०/७१ मा यो संख्या बढेर ९ सय ५ पुग्यो । यो वर्ष पनि सबैभन्दा बढी पूर्वमा २ सय ५८ वटा बलात्कारका घटना भएका थिए । काठमाडौं उपत्यकामा पनि २ सय बलात्कार घटना भएको भन्दै प्रहरीकोमा उजुरी परेको थियो ।आर्थिक वर्ष २०७१/७२ मा ९८१ वटा बलात्कारका उजुरी प्रहरीकोमा परेको थियो । जसमा सबैभन्दा बढी पूर्वमा तीन सय २ वटा, काठमाडौं उपत्यकामा १ सय ९१ र पश्चिमाञ्चलमा १ सय ७६ उजुरी परेको थियो । सुदूरपश्चिममा सबैभन्दा कम ६० वटा बलात्कारका घटना भएका थिए ।

त्यसैगरी आव २०७२/७३ मा यो संख्या बढेर १ हजार ८९ पुगेको थियो । यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी पूर्वमै २ सय ९५ वटा बलात्कारका घटना भएका थिए । आर्थिक वर्ष २०७३/७४ मा पनि १ हजार ३४ वटा बलात्कारको घटना भएको प्रहरी प्रधान कार्यालयसँग तथ्यांक छ ।

यस्तो छ कानूनी प्रावधान
मुलुकी ऐन २०२० को महल १४ मा जबरजस्ती करणीको बारेमा उल्लेख गरिएको छ । ऐनअनुसार कसैले कुनै महिलाको मञ्जूरीबिना करणी गरेमा बलात्कार गरेको ठहर्छ । त्यस्तै वा १६ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिई गरे पनि बलात्कार गरेको ठहर हुने प्रावधान छ ।

१० वर्षभन्दा मुनिकी बालिकालाई बलात्कार गरेमा १० देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा ८ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । चौध वर्षभन्दा माथि १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा ६ वर्षदेखि १० वर्षसम्म कैद हुनेछ ।

१६ वर्षभन्दा बढी बीस वर्षभन्दा कम उमेरकी महिला भए पाँच वर्षदेखि आठ वर्षसम्म कैद हुने मुलुकी ऐनमा उल्लेख छ । २९ वर्षभन्दा माथिकी महिलालाई बलात्कार गरेमा ५ देखि ७ वर्षसम्म कैद हुने मुलुकी ऐनमा उल्लेख छ । महिलालाई सामूहिक रूपमा बलात्कार गर्ने, अशक्त वा अपाङ्ग महिलालाई बलात्कार गर्नेलाई माथि उल्लेख गरिएभन्दा पाँच वर्ष कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्