दुई दिनअघि मात्र जितेका लारीलाई एक दिन थुन्ने आदेश, अस्पताल भर्ना
काठमाडौं : लागूऔषध तस्करी मुद्दामा पक्राउ परेका एभरेष्ट होटलमा सञ्चालक मस्कुर अहमद लारीलाई जिल्ला अदालत काठमाडौंले एक दिन थुनामा राख्ने आदेश दिएको छ । लारीले एभरेष्ट होटलको शेयरसम्बन्धि मुद्दा दुई दिनअघि मात्र जितेका थिए । उनको होटल भने २०७२ साल बैशाखको भूकम्पयता बन्द छ । लारी फरार रहदै आएको खुलेपछि पक्राउ गरी अदालत पेश गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी जय बहादुर चन्दले बताए ।
लारी बिरामी भएको भन्दै अस्पताल भर्ना भएका छन् । लारीलाई शुक्रबार अदालतमा पेश गर्ने गरी एक दिन हिरासतमा राख्न अदालतले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पणडेले बताए । २१ वर्षअघिको चरेस तस्करी मुद्दामा उनलाई महानगरीय प्रहरी कार्यालय, रानीपाखेरीले पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उनलाई छाड्न भन्दै उच्च पदस्थ व्यक्तिहरुले प्रहरीलाई दबाब दिएका थिए ।
१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो । उक्त चरेस लारीले पठाएको अनुसन्धानमा खुलेको थियो । प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो । तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो । लारी फरार रहदै आएका थिए । पहुँचका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।