Logo
२१ कार्तिक २०८१, बुधबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरार रहेका होटेल एभरेस्टका मालिक मस्कुर अहमद लारी पक्राउ

काठमाडौं : बन्द रहेको काठमाडौं स्थित होटेल एभेरेष्टका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका मस्कुर अहमद लारीलाई पक्राउ गरेको हो । लारीलाई बिहीबार बिहान उनको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको महानगरी प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले जानकारी दिए ।

पाँचतारै होटेल एभरेस्टका मालिकसमेत रहेका लारी २०६९ सालदेखि फरार थिए । गत आइतबार मात्र एभरेस्ट होटेलको सेयर विवादको मुद्दामा सर्वोच्च अदालतले मस्कुर अहमद लारी र नज्मा मस्कुर अहमद लारीको पक्षमा फैसला सुनाएको थियो । लारी एभरेस्ट होटेलका संस्थापक मकबुल अहमद लारीका भतिज हुन् ।

१९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे तीन करोड रुपैयाँ पुँजी लगानी गरेका थिए । मकबुलले होटेलको आधा स्वामित्व आफ्नै भतिज मस्कुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए । पछि मकबुलचाहिँ लखनउमै बस्न थालेका थिए । मकबुलको निधनपछि उनको स्वामित्व आफैंले खरिद गरिसकेको भन्दै मस्कुरले भतिज मुजाफलाई सेयर नदिएपछि पारिवारिक विवाद सुरु भएको थियो।

पञ्चायतकालमै लखनउबाट काठमाडौं छिरेको लारी परिवारले सुरुमा मदिरा व्यवसाय गरेको थियो । ठेक्का लाएर मदिरा बिक्री वितरण हुने जमानामा मकबुल अहमद लारी मदिराका ठूला खेलाडीमा गनिने भएका थिए । मदिरा आपूर्ति गर्न उनले लारी डिस्टिलरी स्थापना गरेका थिए । राजपरिवारकै निकटस्थ बन्न सफल भए पनि लारी परिवारले नेपाली नागरिक बन्न भने रुचि देखाएनन् । मदिराबाट कमाएको पैसाले उनले एभरेस्टका साथै लखनउ र कोलकातामा होटेल व्यवसाय सुरु गरेका थिए ।

२०५५ सालमा जर्मनीको फ्र्यांकफर्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गएको २५० केजी चरेस बरामद भएको थियो । प्रहरी अनुसन्धानले उक्त घटनामा एभरेस्टका मालिक लारीको कनेक्सन भेटेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो । काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट उनी दोषी ठहर भए पनि लामो समयदेखि फरार थिए ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्