सैन्य परेड गरेर उत्तर कोरियाले गर्यो शक्ति प्रर्दशन
उत्तर कोरियाले बिहीबार सैन्य परेड गरेको छ । शुक्रबारदेखि दक्षिण कोरियाको प्योङच्याङमा सुरु हुने विन्टर (गृष्मकालीन) ओलम्पिकको अघिल्लो दिन उत्तर कोरियाले विशेष सैन्य परेड गरेर आफ्नो सैनिक स्थापना भएको ७० औँ वर्षगाँठ मनाएको हो ।
गएको ४० वर्षदेखि अप्रिलमा हुँदै आएको सैन्य परेड उत्तर कोरियाले यसपटक प्योङच्याङ ओलम्पिकको अघिल्लो दिन उत्तर कोरियाले गरेको हो । तर यसपटकको सैन्य परेड तुलनात्मक रुपमा सानो रह्यो । यसअघिका वर्षमा उत्तर कोरियाले ठूलो सैन्य परेड गर्ने गरेको थियो ।
अघिल्ला वर्षमा राष्ट्रिय टेलिभिजनमा राष्ट्रिय भावनाले भरिएको चलचित्र देखाएपछि सैन्य परेडको प्रत्यक्षप्रशारण गर्ने गरिएको थियो । तर यसपटक भने पहिले नै सानो आकारको सैन्य परेड गरेपछि टेलिभिजनमा चलचित्र देखाइएको दक्षिण कोरियाका सञ्चारमाध्यमले जनाएका छन् ।
विन्टर ओलम्पिकमा उत्तर र दक्षिण कोरियाले साझा झण्डामा मार्च पास गर्ने छन् । उत्तर कोरियाले सैन्य परेडसँगै लामो दूरीको मिसाइल पनि परीक्षण गर्न सक्ने विश्लेषकले बताएका थिए । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्दै आएको छ ।