Logo
३१ भाद्र २०८१, सोमबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ बर्षपछि जलविधुत आयोजनाको निर्माण, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं : ३० मेगावाट क्षमताको चमेलिया जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । दार्चुलाको शैल्यशिखरस्थित बलान्चमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको निर्माण सम्पन्न भई आगामी शनिबार उद्घाटन हुँदैछ ।

आयोजनाको सफल परीक्षण सकिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाले हाल १५/ १५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाल दैनिक साँझ ६ बजेबाट बिहान ९ बजेसम्म विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख दाहालले बताउनुभयो । तर हिउँदयाम भएकाले पूर्ण क्षमतामा उत्पादन गर्न भने अझै केही समय लाग्ने दाहालको भनाइ छ । सन् २०११ मा सक्ने लक्ष्य राखी २००७ मा सुरु आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै यसको लागतसमेत बढेको छ ।

सो आयोजना ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएपनि समयावधी लम्बिदै जाँदा हालसम्म १४ अर्ब भन्दा बढी खर्च भइसकेको दाहालको भनाइ छ ।सरकारी लगानीमा निर्माण भएको आयोजनाको सफल निर्माणसँगै ७ नम्बर प्रदेशमा विकासको बाटो खुलेको छ ।

यसैबीच चमेलिया आयोजना अवलोकन र उद्घाटनको तयारीका लागि आज विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने लगायतको टोली दार्चुला जाने प्राधिकरणका विद्युत व्यापार विभाग प्रमुख एवं प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्