Logo
२१ कार्तिक २०८१, बुधबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज राष्ट्रियसभा निर्वाचन, लगतै समानुपातिक नतिजा

काठमाडौ । बहुप्रतिक्षित राष्ट्रियसभाको निर्वाचन आज हुदैछ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्न पाउँनेछन् । निर्वाचनमा कूल २ हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् ।

२४ जना निर्विरोध निर्वाचित भएको र अब ३२ पदका लागि मात्रै निर्वाचित हुने आयोगले बताएको छ । बुधबार हुने निर्वाचनका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मंगलवार निर्वाचन आयोगको मुख्यालयमा पत्रकार सम्मेलन गरी आयोगले मतदानमा ढुक्क भएर सहभागी हुन सबै मतदातालाई आह्वान गरेको छ । बुधबार बिहान १० देखि १ बजेसम्म निर्वाचन हुनेछ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।

आयोगले दिएको जानकारी अनुसार निर्वाचनका लागि २१ राजनीतिक दलहरुले भाग लिन निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६ जना उम्मेदवारले नाम फिर्ता लिएका र एक जनाको उम्मेदवारी रद्द गरिएको पनि आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको नतिजापछि प्रतिनिधिसभाको समानुपातिक नतिाजा राष्ट्रिय सभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम आए लगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गरी विभिन्न दलहरुले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थे्रसहोल्ड) ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलहरुको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारहरुमध्ये निर्वा्चित हुने उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई तीन दिनको समय दिएर पत्राचार गर्ने छ ।

दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह मिले नमिलेको जाँच गरी नमिलेको भएमा मात्रै दलहरूलाई सच्चाउन पुनः दुई दिनको समय दिइने व्यवस्था आयोगले मिलाएको छ ।  ढुक्क भएर सहभागी हुन मतदाताहरुलाई आह्वान प्रमुख आयुक्त यादवले नेपाल सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन मतदाताहरुलाई आह्वान समेत गरेका छन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वा्चित हुने व्यवस्था रहेको छ ।

प्रत्येक प्रदेशबाट निर्वा्चित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणाली अनुसार मतदान हुने छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन् ।

प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वा्चित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यका लागि मतदान हुने छ ।

प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वा्चित हुनुभएकाले अन्य सदस्यमा निर्वाचन हुने छ ।

यसैगरी, प्रदेश नम्बर ५ मा महिला ३ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वा्चित भइसक्नु भएकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा ५ सदस्यमा निर्वाचन हुने भएको छ । त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वा्चित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यमा निर्वाचन हुने छ ।

चिन्ह प्रयोग हुनेछैन

विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वतिक चिह्नको प्रयोग हुने छैन । मतदानका लागि प्रदेश सभाका सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङ्गको मतपत्रमा मत सङ्केत गर्नु हुनेछ । तीन महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्ने छ भने महिला १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट निर्वा्चित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्ने छ ।

साथै स्थानीय तहका मतदाताले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेश सभा सदस्यले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले एउटै पनि मत बदर नहुने गरी मत संकेत गर्न र गर्ने व्यवस्था मिलाउनका लागि आयोगले सबै राजनीतिक दल, उम्मेदवार र निर्वाचनका लागि खटिएका कर्मचारीहरूलाई अपील गरेको छ ।

परिचयपत्र अनिवार्य

निर्वाचनमा निर्वाचक मण्डल (इलोक्टोरल कलेज) को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आपूm निर्वाचित भएको प्रमाण पत्र हराएमा वा बिग्रिए नासिएको भएमा मतदाताको मताधिकारलाई सुरक्षित गर्न स्थानीय तह निर्वाचन वा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ का लागि आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले यसका लागि सबै निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले यसअघि नै निर्देशन दिइसकेको बताए ।

मतदान सकिएलगत्तै मतगणना

मतदान सकिए लगत्तै मत गणना कार्य सुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ । मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले ६ वटै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाएको छ । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्