नेपालमा सीधा असर पर्नेगरि आयो मोदी सरकारको अन्तिम बजेट
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट संसद्मा प्रस्तुत गरेको छ ।
आगामी वर्षको लोकसभा निर्वाचनलाई लक्षित पपुलिस्ट कार्यक्रमसहित बजेट आएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतीय वित्तमन्त्री अरूण जेट्लीले संसदमा प्रस्तुत गरेको बजेटमा कृषि र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिइएको छ ।
बजेटले किसानलाई विभिन्न उपहारको घोषणा समेत गरेको छ । कृषि उत्पादनको लागतको डेढ गुणाभन्दा बढी समर्थन मूल्य तोक्ने घोषणा बजेटमा समेटिएको छ । त्यस्तै, टमाटर, आलु, प्याजजस्ता तरकारी उत्पादन र प्रवद्र्धनका लागि ५०० करोड भारु छुट्याइएको छ । माछा र पशुपालनका लागि भारु १० हजार करोड विनियोजन गरिएको छ ।
भारतले कृषि क्षेत्रलाई अनुदान बढाउँदा त्यसको सीधा असर नेपालमा पर्छ । अहिले पनि अनुदान प्राप्त भारतीय उत्पादनसँग नेपाली कृषि उत्पादनले प्रतिस्पर्धा गर्न कठिन छ । बढी लागतका कारण नेपाली कृषि उत्पादन भारतीयका तुलनामा महंगा छन् ।
भारतीय सञ्चारमाध्यमहरुले बजेट ग्रामीण क्षेत्र र गरीब केन्द्रित भएको उल्लेख गरेका छन् । बजेटले ५० करोड जनताका लागि लक्षित राष्ट्रिय स्वास्थ्य सुरक्षा योजनाको महत्वकांक्षी कार्यक्रम घोषणा गरेको छ । सम्भवतः यसलाई ‘मोदीकेयर’ नाम दिन सकिने नवभारत टाइम्सले लेखेको छ ।
यो स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १० करोड भारतीय परिवारका लागि वार्षिक भारु. ५ लाखको स्वास्थ्य बीमा गरिनेछ । यो कार्यक्रम लागू भएमा कुल भारतीयको ४० प्रतिशत परिवारले वार्षिक रु. ५ लाखसम्मको औषधि उपचारमा आफ्नो पैसा खर्च गर्नुपर्ने छैन । बजेटले ८ करोड ग्रामीण महिलालाई निःशुल्क ग्याँस जडान, ४ करोड घरमा निःशुल्क बिजुली जडान, २ करोड शौचालय निर्माण, गरीब परिवारका लागि ५१ लाख घर निर्माण लगायतका लोकप्रिय कार्यक्रम समेटेको छ ।