Logo
२१ कार्तिक २०८१, बुधबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आह्वान

माल्दिभ्समा राष्ट्रपति अब्दुल्ला यामीनले संकटकालको घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहमद नाशीदले भारत र संयुक्त राज्य अमेरिकालाई गुहारेका छन् । निर्वासनमा रहेका नाशीदले सेना सहितको दूत पठाएर माल्दिभ्समा भौतिक उपस्थिति जनाउन भारतलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जाल टि्वटर्‌मा उनले ‘माल्दिभ्सका जनताको तर्फबाट’ भन्दै पक्राउ गरिएका न्यायाधीशहरू र राजनीतिक बन्दीहरूको रिहाइका लागि भारतसँग र सत्तारूढ नेताहरूका सबै आर्थिक कारोबार रोकिदिन अमेरिकालाई गुहारेका हुन् ।

माल्दिभ्समा सुरक्षा सैन्यले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुई जना वरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमून अब्दुल गयूमलाई पक्राउ गरेपछि नाशीदले त्यस्तो आह्वान गरेका हुन् । यसअघि अमेरिकाको विदेश मन्त्रालयले राजनीतिक बन्दीहरूलाई रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश मान्न राष्ट्रपति यामीनले अस्वीकार गरेको भन्दै चिन्ता व्यक्त गरेको थियो । विपक्षीहरूले राष्ट्रपतिको कदम उनीहरूलाई पाखा लगाउने उद्देश्यले चालिएको दाबी गरेका छन् । राजनीतिक संकट गहिरिँदै जाँदा प्रहरीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई पक्राउ गरेको थियो ।

सरकारले संकटकाल घोषणा गरेको केही घण्टाभित्रै प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अली हमिद पक्राउमा परेका हुन् । माल्दिभ्समा राजनीतिक संकट गहिरिएको छ उनीहरूमाथि भएको अनुसन्धान र अभियोगबारे कुनै विवरण दिइएको छैन । माल्दिभ्स टापु नै टापुहरूको देश हो र पर्यटन यसको अर्थव्यवस्थाको महत्वपूर्ण आधार हो । अघिल्लो हप्ता त्यहाँ सर्वोच्च अदालतले विपक्षी राजनीतिज्ञहरुलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले सन् २०१५ मा निर्वासनमा बसेका पूर्व राष्ट्रपति मोहम्मद नाशिदमाथिको सुनुवाइ पनि असंवैधानिक भएको निर्णय गरेको थियो । बिबिसीबाट

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्