Logo
२१ कार्तिक २०८१, बुधबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाका सैन्य अधिकारी बिहीबार नेपाल आउदै

काठमाडौं : अमेरिकी सेनाका प्यासिफिक कमाण्डर रोबर्ट बी. ब्राउन बिहीबार नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा ब्राउनले नेपालको तीनदिने भ्रमण गर्न लागेका हुन् । नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल गोकुल भण्डारीले ब्राउन नेतृत्वको अमेरिकी सैन्य टोली भ्रमणमा आउन लागेको बताए । अमेरिकी सैनिक अधिकारीको उच्च प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधान र प्रधानसेनापति क्षेत्री लगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल आउन लागेका ब्राउन अमेरिकी सेनाका फोर स्टार जनरल हुन् । उनी अप्रिल ३०, २०१६ मा युएस प्यासिफिकका कमाण्डर नियुक्त भएका थिए । त्यसअघि सन् २०१४ देखि उनी अमेरिकी सेनाको कमबाइन्ड आम्र्स सेन्टरका कमान्डिङ् जनरल थिए । अमेरिकाले चीनसँगको बढ्दो रणनीतिक, सामरिक, सैनिक तथा आर्थिक प्रतिस्पर्धाबिच एसिया तथा प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लैजाने रणनीति अख्तियार गरेको देखिन्छ । चीनको बढ्दो प्रभावलाई ‘काउन्टर’ गर्न अमेरिकाले एसियामा आफ्नो उपस्थिति सशक्तपार्दैै लैजाँदा अमेरिकी सैन्य र सामरिक सहयोग पनि यस क्षेत्रमा बढ्दो छ । भारतलाई अमेरिकाले यस क्षेत्रको आफ्नो मुख्य सहयात्रीमानेको स्थिति छ ।

चीनलाई काउन्टर गर्न चीनसँग सीमा जोडिएका नेपाल लगायतका साना मुलुकलाई पनि अमेरिकाले रणनीतिक उपयोग गर्ने रणनीति लिएको देखिन्छ । अमेरिकाले यही वर्ष मात्र मिलिनियम च्यालेन्ज कर्पोरेशन अन्र्तगत नेपाललाई ५० अर्ब नेपाली रुपैयाँ सहयोग घोषणा गरेको छ । जसमा अमेरिकाको आफ्नै रणनीति स्वार्थ छ । उक्त ५० अर्ब रुपैयाँको सहयोग परिचालनका लागि अमेरिकाले भारतसँग मिलेर नेपालमा काम गर्ने सहमति विगतमा भइसकेको छ ।

केही महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘इन्डो प्यासिफिक’ क्षेत्रसँगको सम्बन्धलाई उच्च महत्वदिएको बताएका थिए । विगतमा यस क्षेत्रलाई ‘एसियाप्यासिफीक’ क्षेत्र भन्ने गरे पनि भारतसँगको बढदो रणनीतिक, सामरिक निकटताका बिच अमेरिकाले ‘इन्डो प्यासिफीक’ भन्न थालेको हो । चीनलाई हेर्ने सवालमा अमेरिका, भारत र युरोपेली युनियनबिच धेरै विषयमा समानता देखिने गरेको छ ।

अमेरिकाले नेपाली सेनालाई तालिम, विप व्वस्थापनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपाली सेना र अमेरिकी सेनाबिच केही वर्षयता सैन्य अभ्यास समेत भइरहेका छन् । उदाउँदा अर्थतन्त्रहरु चीन र भारतकाबिचमा रहेको नेपालको भूराजनीतिकमहत्वलाई ह्रदयंगम गरी अमेरिकी सेनाका उच्च अधिकारीको नेपालमा भ्रमण बाक्लिन थालेको देखिन्छ ।अघिल्लिो वर्ष नेपाली सेनाकै निम्तोमा अमेरिकी प्यासिफिक कमान्डका एडमाइरल ह्यारी बि। ह्यारिस नेपाल भ्रमणमा आएका थिए । उनले अमेरिकी सेनाले आयोजना गरेको ‘मल्टि न्यासनलपिस किपिङ् एक्सरसाइज—शान्तिप्रयास—३’ को उदघाटन गरेका थिए । अमेरिकी सेना र नेपाली सेनाको संयुक्त आयोजनामा वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र पाँच खालमा सम्पन्न उक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा २८ देश सहभागी थिए ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्