Logo
३ आश्विन २०८१, बिहीबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका क्यामेरा हराए

भरतपुर : चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् । निकुञ्जले गत मंसिर १४ बाट बाघ गणना र उनीहरूको गतिविधि हेर्न विभिन्न क्षेत्रमा क्यामेरा जडान गरेको थियो ।

रौतहटस्थित पौराई जंगलबाट स्थानीय बालकले २ वटा क्यामेरा फेला पारेको र ढुंगाले फुटाउन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त क्यामेरा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी शान्तिराज कोइरालाको पहलमा वन कार्यालयलाई जिम्मा लगाइएको छ ।

बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका क्यामेरा चोरी भएको र केहीमा वन्यजन्तुबाट क्षति पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । निकुञ्जका अनुसार पर्सा क्षेत्रको पहिलो ब्लकमा जडान गरिएका ३६, दोस्रोमा २६ र तेस्रो ब्लकमा ११ गरी ७३ वटा क्यामेरामध्ये ३५ वटा चोरी भएका छन् ।

रौतहटमा फेला परेको क्यामेरा प्रहरीमार्फत वन कार्यालयले बुझेको छ । यो वर्ष सामुदायिक वन क्षेत्रमा समेत बाघ गणना भएको थियो । सामुदायिक वनमा सर्वसाधारणको पहुँच भएकाले क्यामेरा हराउने क्रम बढेको हो । दुई महिना लगाएर दुर्लभ पाटे बाघको गणना गरिएको थियो ।

झन्डै ३० वटा क्यामेरा हात्तीले फुटाइदिएका छन् । हराएकामध्ये ५ वटा फेला परेका थिए । बस्ती नजिक जडान गरिएका क्यामेरा बालबालिकाले खेलौना भनेर ल्याउने गरेका छन् । यहाँस्थित कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ ।

 

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्