यी नेताहरु बन्दैछन् कांग्रेस संसदीय दलका नेता
काठमाडौं : बिभिन्न गुटउपगुटलाइृ भागबण्डा मिलाउदै नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छनोट प्रक्रिया अघि बढाएको छ । अन्य प्रदेशमा पनि दलको नेता छनोटका लागि केन्द्रीय प्रतिनिधिहरुले छलफल सुरु गरेका छन् । प्रदेश नम्बर एक र तीनका केन्द्रीय प्रतिनिधिले मंगलबार छलफल राखेका छन् । कुनैपनि प्रदेशमा पार्टी नेतृत्वमा सरकार गठनको सम्भावना नभएपनि कांग्रेसले फागुनको पहिलो साताभित्र सबै प्रदेशमा दलको नेता छनोट प्रक्रिया सुरु गरेको हो ।
कांग्रेसले प्रदेश संसदीय दलको विधानको मस्यौदा तयार गरेको छ । पार्टी केन्द्रीय सदस्य मीनेन्द्र रिजाल नेतृत्व समितिले मस्यौदा तयार गरेपनि केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्न भने बाँकी छ । दलको नेता छनोटका लागि पार्टीले खटाएको केन्द्रीय प्रतिनिधिले आन्तरिक छलफललाई तीब्र बनाएका छन् भने प्रदेश दुईमा सर्वसहमतिबाट कांग्रेसले नेता चयन गरेको छ । दलको नेता छनोटका लागि कांग्रेसले प्रदेश एकको छलफल बिराटनगरमा राखेको छ । प्रत्यक्षतर्फ र समानुपातिक गरी २१ जना सांसद् रहेको कांग्रेस संसदीय दलको नेताका लागि राजीव कोइराला, हिमाल कार्की, केदार कार्कीसहितका नेता आकांक्षी छन् । तर, सुनसरीका नेता कोइराला प्रदेश एकको दलको नेता बन्ने सम्भावना छ ।
पूर्व महामन्त्री एवं प्रदेश नम्बर दुईका केन्द्रीय प्रतिनिधि विमलेन्द्र निधिको उपस्थीतिमा सोमबार जनकपुरमा बसेको बैठकले धनुषाका पूर्व जिल्ला सभापतिसमेत रहेका रामसरोज यादवलाई दलको नेता चयन गरेको हो । त्यहाँ कांग्रेसको प्रत्यक्षमा र समानुपातिक गरी १९ सांसद् छन् । त्यस्तै, प्रदेश तीनको संसदीय दलको नेता छनोट गर्ने मंगलबार २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल राखेको केन्द्रीय प्रतिनिधि महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । प्रत्यक्ष र समानुपातिक गरी २१ सांसद् रहेको कांग्रेसले मकवानपुरका जिल्ला सभापतिसमेत रहेका पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ दलको नेता बन्दैछन् ।
त्यस्तै, प्रदेश चारमा प्रत्यक्ष र समानुपातिक गरी १५ सांसद् रहेको कांग्रेसले कृष्णचन्द्र नेपालीलाई दलको नेता बनाउने आन्तरिक तयारी छ भने प्रदेश पाँचमा डिल्ली चौधरीको सम्भावना छ । १७ जना प्रदेशसभा सदस्य रहेको त्यहाँ चौधरीलाई दलको नेता बनाउने आन्तरिक सहमति भएको स्रोतको दाबी छ । पार्टीले त्यहाँ नेता बालकृष्ण खाँणलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । त्यस्तै, प्रदेश छबाट केन्द्रीय सदस्य जीवनबहादुर शाही दलको नेता बन्ने छन् । छ सांसद् रहेको प्रदेश छमा शाही मात्र प्रत्यक्ष निर्वाचित सांसद् हुन । प्रदेश सातमा कर्ण बहादुर मल्ल र राना बहादुर रावल आकांक्षी छन् । प्रत्यक्ष र समानुपातिक गरी १२ सांसद् रहेको कांग्रेसले पहिलो चरणको छलफल धनगढीमा राखेको थियो ।