Logo
३ आश्विन २०८१, बिहीबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुटनीतिक आचारसंहिता उल्लंघन भएकोमा नारायणकाजीको रोष

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली नेताहरुले कुटनीतिक आचारसंहिता उल्लंघनमा देखाएको कमजोरीप्रति रोष प्रकट गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले कुनै घटना उल्लेख नगरी दलका नेताहरुको कुटनीतिक मर्यादाविपरितका गतिविधिप्रति रोष प्रकट गरेका हुन् ।

उनले अधिकांश राजनीतिक दलका नेताले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन् । घटनाको उल्लेख नगरेपनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको बेला दलका नेताहरुले देखाएको कमजोर कुटनीतिक रवैयाप्रति उनले रोष प्रकट गरेको आंकलन गर्न सकिन्छ । सामाजिक सञ्जाल ट्वीटरमा नेता श्रेष्ठले राजनीतिक दलका नेताहरुको आचरणले देशको स्वभिमान गिराएको तर्क गरेका छन् । उनले कूटनीतिक आचारसंहिता उल्लंघनमा दलका नेताहरु प्रतिबद्ध देखिएको स्पष्ट समेत पारेका छन् ।

‘अधिकांश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमा ‘प्रतिबद्ध’ देखिएका छन्,’ उनी अगाडि लेख्छन्, ‘ध्यान नपुगेर होइन । किन त ? हिन ग्रन्थी र निहित राजनैतिक स्वार्थ ?!’ उनले दलका नेताहरुको गतिविधिले आफूलाई दुःख र ग्लानिको अनुभूति भएको उल्लेख गरेका छन् । उनी अगाडि लेख्छन्, ‘दुःख र ग्लानिको अनुभुति हुन्छ । ठूला छिमेकीहरु उपनिवेश बन्दा समेत पुर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्वभिमान आज गिराईंदैछ ।’

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्