Logo
२९ कार्तिक २०८१, बिहीबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अाँसुकाे प्रेरणाबाट नेपाली साहित्यको लेखन

कृष्ण धराबासी

नेपाली साहित्यको इतिहास नै आँसुलेखनबाट सुरु भएको छ । जब हामी भानुभक्तको रामायण पढ्न थाल्छौँ, त्यहीँबाट लेखनमा आँसुले प्रवेश पाएको देखिन्छ । उसो त साहित्य कला संगीत सबैको प्रारम्भ कि त प्रेम कि त पीडाकाट सुरु भएको छ । विश्व साहित्यकै इतिहासलाई हेरेर आइयो भने हामी सबैतिर यी कुरालाई देख्न सक्छौँ । मानिसको जीवनको अधिकाँश समय दुःख र संघर्षमै बितिरहेको हुन्छ । ती दुःखहरूबाट मुक्तिको कल्पनामा मानिसले आफ्नो जीवनको धेर्रै समय खर्च गर्छ । तिनै सुखका कल्पनाहरूले उसलाई हरेक दुःखसँग जुध्ने शक्ति दिइरहेको हुन्छ । आँसु मानिसको जीवनको सबैभन्दा ठूलो शक्ति हो । आँसुकै प्रेरणाले आजसम्म मानिसले यी सबै प्रगति गरेका हुन । यसो त मानिसलाई अरु प्राणीबाट अलग्गै छुट्याउने तत्व भनेको आँसु र हाँसो नै हो । रुन त पशुहरू पनि रुन्छन् तर त्यसको स्मृति उनीहरूलाई धेरैबेरसम्म रहँदैन । मानिसले मात्र गर्न सक्ने भनेको हाँस्ने काम हो । दुःख व्यक्त गर्न प्रकृतिले नै सबैलाई सिकाएको छ तर खुशी चाहिँ मानिसले मात्र व्यक्त गर्न सक्छ ।

मानिस धेरैबेरसम्म खुशी भइरहन सक्दैन तर ऊ कैयौँ दिनसम्म दुखी भइरहेको हुन्छ । सानासाना कुराले पनि ठूल्ठूला तनाव दिइरहेको हुन्छ मानिसलाई । सामाजिक प्राणी त धेरै छन् प्रकृतिमा तर मानिस नै त्यस्तो प्राणी पनि हो जो समाज बेगर पटक्कै बाँच्न सक्दैन र त्यही समाज उसका लागि सधै तनाव र दुःखको कारण पनि भइरहेको हुन्छ । माया, प्रेम, घृणा, दया, करुणा, रिस, आवेग सबैका बीच जीवनलाई व्यवस्थित गर्न उसले गर्नु परेका संघर्ष र संतुलनको समस्याले समाज भित्र पनि सधै ऊ आफूलाई एक्लै अनुभूत गरिरहन्छ र पिडित भइरहेको हुन्छ ।

जीवन बाँच्नेक्रममा मानिसले सबैभन्दा पहिला जानेको कुरा भनेको सँगीत हो । उसले प्रकृतिका अनेक ध्वनीहरूको सिको गर्दै काठ, बाँस वा अरु नै कुनै कुराबाट ध्वनि निकाल्न थाल्यो र बिस्तारै सँगीतको जन्म भयो । अनि लामो लामो आवाजबाट साथीहरूलाई बोलाउँदा बोलाउँदै लयहरू विकसित हुँदै गए । भाषा विकसित हुँदै गएपछि धुनसँग गीत बन्न थाले । गीतबाटै उनीहरूले आफ्ना वेदनाहरू पोख्न थाले । हामी अनुमान गर्न सक्छौँ कि यो पृथ्वीमा अझै पनि कहीँ सभ्यतासँग नजोडिएका मानिसहरू छन् भने तिनीहरू अरु केही जान्दैनन् भने पनि गीत त पक्कै पनि गाउन सक्दछन् होला । विश्वका सबै संस्कृतिको नृत्यमा हामी एउटा कुराको समानता पाउँछौँ त्यो के भने सबै नृत्यहरू गोलो फन्को मार्दै नाचिरहेका हुन्छन् । किन सबै जातिका मानिसको नृत्यको प्रकृति गोलो भयो होला ! कसले तालिम दिएको होला ! अर्थात छोटोमा बुझ्दा हामीले यो अनुमान गर्न सक्छौँ, प्रकृतिको एउटै संरचनाबाट विकसित भएको प्राणीमा आफ् आफ्नै पाराले भए पनि समान स्वभावहरू विकसित हुदारहेछन् । यदि उनीहरूले गीत गाउन सिके भने पनि मलाई लाग्छ तिनीहरूले आफ्नो गीतमा दुःख नै गाए होलान् । भोकै भएको, सिकार नभेटेको,वा परिवारबाट हराएर जंगलमा एक्लै भौँतारिएको पीडा नै गाए होलान् आदि ।

त्यसपछि तिनीहरूले सिकेको भनेको चित्र बनाउन हो । संकेतबाट आफ्ना समाचाार र भावहरू भन्नकै लागि पनि उनीहरूले चित्र बनाउन थाले । आफूले सिकार गरेको पशुको चित्र बनाएर उनीहरूले एकअर्कालाई अभिव्यक्त गर्न थाले । धेरैपछि मात्र मानिसले भाषा बनाउँदै गए । ती भाषा सीमित समुदायले मात्र बुझ्थे तर सँगीत र चित्र सबैले उस्तै बुझ्थे । उसो त भाषा आफैमा संकेत मात्रै त हो नि । कालान्तरमा मानिस जब बोल्दै जान थाल्यो उसले शब्दहरूबाटै भाव व्यक्त गर्न थाल्यो । चाहे गीत होस्,चाहे चित्र होस, चाहे साहित्य होस् । सबैले प्रकारन्तरमा व्यक्त गर्ने कुरा भनेको प्रेम, पीडा र यौन हो । बाँकी कुराहरू भनेका तपसिल हुन् । पछिल्लो कालमा हामीले यी कुरालाई हेर्र्यौं भने देख्नेछौँ चित्रहरूमा कुनै न कुनै प्रकारले होस, त्यसमा नग्नता नै आएको हुन्छ । गीतहरू सुन्यौँ भने प्रेम र विरह नै बढी हुन्छन् । साहित्य पनि यदि योजनाबद्ध होइन भने त्यसमा पनि दुःख र पीडा नै भरिएको हुन्छ। लेखनमा आँसुले प्रवेश पाएको देखिन्छ । यो कुरा नेपाली साहित्यमा मात्र होइन विश्व साहित्य मै छताछुल्ल भेटिन्छ । मैले आजसम्म पढेका राम्रा भनिएका अधिकांश किताबहरू आँसुसँगै जोडिएका छन् ।

साहित्य भनेको कुनै बैचारिक दस्तावेज होइन जसबाट कुनै सिद्धान्तको स्थापना गरियोस् । यो त मानिसको जीवनको एउटा प्रतिबिम्ब हो । समालोचनाका नयाँ पुराना कैयौ सिद्धान्तहरूले साहित्यलाई कहिले कहीँ निर्देशित पनि गर्न खोज्छ तर लेखन आफैमा एउटा फरक चिज भएकाले यसले सधै निर्देशनहरूको अवज्ञा गर्दछ । यदि साहित्यले जीवन वा समाज जे नै लेख्छ भने पनि त्यसले त्यहीँको भोगाई लेख्ने हो । समाजको बनावट, संस्कृति, राजनीति र त्यसले मानिसको व्यक्तिगत वा सामूहिक जीवनमा पारेको प्रभाव नै लेखिने हो । यदि समाज वा व्यक्ति संधै समस्यामा छ र ऊ हाँस्न नसक्ने अवस्थामा छ भने साहित्यमा हाँसो कसरी लेख्न सकिएला म बुझ्दिन ।

नेपाली समाज पनि युगौ.देखि आजसम्म सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक,भाषिक, क्षेत्रगत,लिङ्गीय आधारमा बिभेद बोकेर आएको छ ।यस्ता कारणहरूबाट पिरोलिएको समाज बिथोलिएको मानिसको कथा मनोरञ्जनीय वा हाँस्य कसरी हुनू ! सबैभन्दा ठूला हाँस्य कलाकार मह जोडीले हँसाउँदा हँसाउँदै किन रुवाउँछन् ? हाँस्दा हाँस्दै मानिस किन रुन्छ ती प्रहसनहरूमा ! नेपाली समाजको मनोवैज्ञानिक बनावट नै रोदनीय छ । छोरा, लोग्ने परदेश वा लाहुर जाँदा होस् वा छोरी बिहे गरेर घर पठाउँदा होस पहिला झर्नै आँसु नै हुन् । भोक, रोग, गरिबी, अशिक्षा, आवास जस्ता प्राथमिक कुराहरूकै अभावसँग जुध्दै मर्ने नेपाली जीवनको कथा कहाँ नेर हाँसोमा पुगेर अन्त्य हुनु !

हाम्रो साहित्य लेखकले रोएकोले रोदनीय भएको होइन । रोएको समाज लेख्दा रोदनीय भएको हो । रुन्चे मन भएकोले मानिसले रुनका लागि रमाउँदै किनेर पढेका होइनन् । ती हिट भएका पनि होइनन्। मानिसले आफ्नो जीवनको चित्र देखेर किनेर रोएका हुन्, मन पराएका होइनन् ।  मेरा अधिकांश किताबहरू यस्तै पीडा र समस्यामा केन्द्रित छन् । ती बिकिरहेका पनि छ्न् । यस्तो लेख्दा बिँक्दो रहेछ भनेर मैले छानीछानी त्यस्तै विषयमा कलम चलाएको पनि होइन । समाजमा ती कुरा यति भरिभण्ड छन् कि तिनलाई नलेखेर म कुन रोमाँन्स लेखुँ ! आँसु बेच्दा बिक्ने भए मानिसले बाल्टि मै थापेर बेच्थे होला । साहित्यले आँसु बेचेको होइन लेखेको हो । कतिपय पाठक तथा समालोचकहरूले मलाई आँसुको व्यापारी भनेको पनि पढेको, सुनेको छु । फेरि पनि मेरै किताबहरू मानिस पढिरहेको पनि देख्छु ।

मेरो नारीभित्र त्यस्तो के छ हजुर निबन्ध पढेर जो पनि रोएँ भन्छन् । त्यो निबन्ध मैले कल्पना गरेको कथा थिएन । झापाको शनिश्चरेमा बलात्कार पछि हत्या गरिएकी एक बालिकाको कुरा थियो । त्यो बलात्कारको आयोजना मैले गरेको थिइन । त्यो यही समाज र राज्यले रचना गरेको निबन्ध हो जसलाई मैले लिपिबद्ध मात्र गरेको हुँ । राज्यको अव्यवस्था, समाजको गैरजिम्वेदारी, कानुनको अवहेलना पछि पनि कानुनले आफूलाई उभ्याउन नसकेको अवस्था । त्यो पीडा त्यस बालिकाका आमाबाबुले भन्न सक्दैनथे । समाज लाज पचाएर सामान्य हुन्थ्यो । मैले त्यसबेला नलेखेको भए आज त्यसलाई राज्य समाज कसैले पनि सम्झेर लजाउने थिएन । आज शनिश्चरेमा कसैले पनि त्यस्तो गर्नु अघि एकछिन् बिचार गर्छ । त्यो मुद्दामा सजाय काटेर निस्कनेहरू आज पनि यही इतिहासका अघि शीर झुकाएर हिंडिरहेका छन् । कानुनले उनीहरूलाई सजाय दिएर छोड्यो तर जबसम्म यो निबन्ध पढिने छ यिनीहरू त्यस अपराधबाट मुक्त हुने छैनन् ।

झोला कथा पढेर नरुने आजसम्म मैले एउटा पनि पाठक भेटेको छैन । ती रोए भनेर के मलाई खुसी लाग्ला र ! म के गरुँ त जब आमाहरूलाई जिउँदै डडाउँथ्यो हाम्रो एतिहास । त्यो इतिहास भोेगेर आएका हामी आज पनि किन छोरीहरू बेचिरहेका छौँ ? किन हाम्रा चेलीहरू बिदेशका वेश्यालयहरूमा बिकिरहेछन् र त्यो विकेको पैसा कुनै न कुनै चेपबाट छिरेर राज्यको ढिकुटीमा जम्मा भइरहेछ अनि त्यही पैसाले हाम्रा देशका नीति निर्माताहरू हरेक मिटिङ पछि महंगा रक्सीका ग्लास आपसमा ठोकाइरहेछन् ! किन आज पनि मधेशमा दाइजोका कारण बुहारीहरूलाई जीउँदै जलाएर मारिन्छ ? मधेश आन्दोलनका ती सबै नेताहरू के मधेशमा भइरहेको यो हिंसाको बिरुद्धमा केही बोलिरहेछन् ? झोला कथा हिजोको इतिहासलाई बिम्ब बनाएर आज पनि महिलामाथि भइरहेको दुर्दान्त हिंसाका बिरुद्धको एक आवाज हो । के यो आवाज कृष्ण धराबासीको आँसुको व्यापार वा रोइलो मात्र होला त !

नेपाली साहित्यले आँसु त्यसबेलासम्म लेखिरहनेछ जुन बेलासम्म देशले जनतालाई हाँस्न सक्ने बनाउँदैन । देशै रोएको बेला म हाँसेको कविता लेख्न सक्दिनँ । शरणार्थी उपन्यास नेपाली जातिको शरणार्थीयताको कथा हो । यस उपन्यासले त्यसअघि लेखिएका दर्जनौँ उपन्यास र कथाका पात्रहरूसँग खेल्दै बिदेशमा नेपालीको अवस्थाको चित्रण गरेको छ । बसाई, मुग्लान, मुलुक बाहिर, शिरिषको फूल आदि दर्जनौ कृतिहरूलाई अडेसो हालेर लेखिएको त्यस उपन्यासमा मानिसले पाएका दुःखहरू कथा मात्र होलान् त ! झापा र मोरङका शरणार्थी क्याम्पहरूमा अठार बर्षसम्म नारकीय जीवन बिताएर पनि आफ्नो पित्रीभूमिमा अडेसो नपाएर आज संसार भरि छरिन बाध्य भएको नेपालीको कथा के लेखकको व्यापार मात्र भएको हो ? २०५६ सालमा त्यो उपन्यास विमोचन गर्दै गर्दा मैले कतै पनि सोचेको थिइन यो उपन्यास कुनै दिन दुई दुई वटा विश्वविद्यालयले पढाउलान भनेर । त्यस उपन्यासका कैयौँ पात्रहरूलाई मैले अमेरिकाका बिभिन्न स्टेटहरूमा भेटेको पनि छु । मेरो पछिल्लो उपन्यास ग््रेट फल्समा जयमाया र जयबहादुरको कथालाई निरन्तरता दिएको पनि छु ।

राधा पौराणिक पात्र भए पनि आधुनिक नारी समस्याहरूसँग जोडेर लेखेको हुँ । दुःखले जसलाई पनि रुवाउँछ । आफ्नो दुःखमा भन्दा मानिस अरुको दुःखमा बढी रुन्छ । आफ्नो दुःखको त उसलाई व्यवस्थापन गर्नै फुर्सद कहाँ हुन्छ र ! राधाले आजका युगका नारीका समस्याहरूकै प्रतिनिधित्व गरेको छ । त्यहाँ पनि जुन आँसु छ त्यो आजका आमाहरूले भोगिल्याएकै पीडाको व्यथा हो ।  मद्वावारा लेखिएका अधिकाँश किताबहरूमा समाजमा रहेका पीडाका कथाहरू नै छन् जसले हामी बाँचिरहेको युगको प्रतिनिधित्व गर्दछन् । कालान्तरमा देशबाट यस्ता समस्याहरूको अन्त्य भयो र मानिसहरू हाँस्न थाले भने पक्कै सुखका कथा पनि लेखिएलान । मेरो एउटा लेखकको जीवनचाहिँ रोदनमै बितेकोमा मलाई पनि राम्रो लागेको छैन ।

यसै त साहित्य बेच्नका लागि लेखिँदैन । लेख्दा बिक्ने भए धेरै व्यापारीहरूले लेख्ने थिए र हामी लेखकहरूले पहिले नै फुर्सद पाइसकेका हुने थियौँ । अर्को प्रकारले हेर्दा हामी नेपाली मनोबिज्ञानलाई वियोगप्रिय भनेर पनि बुझ्न सक्छौँ । १९९३ मा मुनामदन छापिए देखि आजसम्म पनि नेपाली साहित्यको सबैभन्दा धेरै बिक्री भएको पुस्तक नै त्यही हो । त्यस यता पनि नेपाली युवाहरू मदनकै अवस्थामा आज पनि बैदेशिक रोजगारका नाममा दलालहरूको फन्दामा पर्दै संसार भरि छरिइरहहेका छन् । धन कमाउन बिदेश जाने बिम्ब किन मेटाउन सकेनौँ हामीले । रोएको कथा लेखेर किन लोकप्रिय भइररहनु परेको हामी लेखकले ?

हामी लेखकहरूले अधिकल्पना गरेर दुःख लेखिरहेका छैनौँ । दुःखै छ त अनि के लेख्नु ! अन्याय भएको बेला अन्याय नदेख्नु, दुःख भएको बेला दुःख नदेख्नु, अत्याचारका विरुद्ध बोल्न नसक्नु हो भने अनि फेरि कलमचाहिँ किन समात्नु नि । खेतमा गएर आलु रोप्नबाट हामीलाई कस्ले छेकेको छ ? हामी लेखकहरू स्वयंसेवी हौँ । हामीलाई कसैले पनि साहित्य लेख्नको लागि नियुक्ति गरेको छैन । हामी त्यस युगका भाट पनि होइनौँ जो राजाका अघि उँभिएर आसु कविको भूमिका निभाउथे । त्यसो त आज पनि नेताका अघि उभिएर तिनका घोषणा पत्रहरूलाई छन्दमा गाउनेहरू पनि छन् । उपन्यासका पाना भर्नेहरू पनि छन् । तै पनि जनताले बुझेको साहित्य भनेको कुनै नारा जुलुसले उफारेर गलाएको तानाभन्दा नितान्त भिन्न उनकै जीवनको बिम्ब हो जो पढेर ऊ रुन्छ पनि रमाउँछ पनि ।

नेपाली लेखकहरूले त्यस्तो गरि संवेदनाको ओभररेटेड पनि गरेका छैनन्, जसले बाहिर अस्वाभाविक सन्देश जावस । दुःखको असीमित आवाज जसले सुने पनि यस्तै हो । उसो त आज रवि लामिछानेले जे गरिरहेछन् त्यति पनि हामी लेखकले गर्नसकेका कहाँ छौँ ? आज रवि लामिछानेको कार्यक्रमले जुन आँसु प्रस्तुत गरिरहेछ के त्यो संवेदनाको व्यापार हो ? नेपाली साहित्यले आँसु त्यसबेलासम्म लेखिरहनेछ जुन बेलासम्म देशले जनतालाई हाँस्न सक्ने बनाउँदैन । देशै रोएको बेला म हाँसेको कविता लेख्न सक्दिनँ । यदि कोही मेरो किताब पढेर रुन्छ भने उसले सँगसँगै यो पनि बुझ्नुपर्छ कि यसको लेखक यो भन्दा पहिल्यै झन् धेरै रोइसकेको हुनुपर्छ । पहिला म नै रोइसकेको हुन्छु अनि अरु कसरी हाँसून् । नेपाली साहित्यको मुल प्रवृत्ति नै आँसु हो । जनतापोस्ट बाट

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्