Logo
३ आश्विन २०८१, बिहीबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि प्रदेश नम्बर ४ को सरकार सञ्चालन

पोखरा : चार नम्बर प्रदेशको मुकाम पोखरामा आजैदेखि केही मन्त्रालय सञ्चालनमा आउने भएका छन्  । स्थानीय प्रशासनले विभिन्न सरकारी कार्यालयमा मन्त्रालय सञ्चालन गर्ने गरी तयारी टुंग्याएको हो । पार्दीस्थित सीप विकास प्रशिक्षण केन्द्रको नवनिर्मित भवनका विभिन्न कोठामा बिहीबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चालनमा ल्याइने प्रमुख सचिव लक्ष्मण अर्यालले बताए ।

यसैगरी हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक विकास मन्त्रालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राखिने भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय र वन कार्यालयको निर्माणाधीन भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएकै भवनलाई मन्त्रालय बनाइने सहक्षेत्रीय प्रशासक बाबुराम गौतमले बताए ।

प्रदेशसभा बैठक सञ्चालनका लागि खटाइएका कर्मचारी नआउँदा सहजीकरणका लागि आएको संसदीय टोलीले उद्देश्यअनुसार काम गर्न पाएको छैन । प्रदेशसभा बैठक सहजीकरणका लागि मंगलबार सहसचिव जीवराज बुढाथोकी संयोजकत्वको चार सदस्यीय टोली ४ नम्बर प्रदेशको राजधानी पोखरा आइपुगेको हो । टोलीले प्रदेशसभा बैठकस्थलको भौतिक पूर्वाधारलगायत अन्य संरचनाबारे जानकारी लिइरहेको छ । पहिलो बैठकको तयारी, त्यसअघि सर्वदलीय बैठकलगायत प्रक्रिया सुरु गरेर संसद् सचिवालयमा खटिने कर्मचारीलाई बैठक सञ्चालनसम्बन्धी आवश्यक अभिमुखीकरण गर्ने टोलीको उद्देश्य थियो ।

सरकारले प्रदेशसभामा तत्कालका लागि २७ जना कर्मचारी खटाएको थियो । त्यसबाहेक प्रदेशसभा बैठक सञ्चालनका लागि खटाइएका उपसचिवलगायत अन्य कर्मचारी नआउँदा समस्या भएको हो । बुधबार कास्की मालपोत कार्यालयबाट काजमा खटाइएका नासु झनकराज अधिकारी मात्रै प्रदेशसभास्थल पुगेर टोलीसँग सम्पर्क गरे ।  तर, कर्मचारी नै नआएकाले प्रशिक्षणमा ढिलाइ हुने टोलीका संयोजक सहसचिव जीवराज बुढाथोकीले बताए । ‘तत्कालका लागि भौतिक संरचनाको अवस्था सन्तोषजनक छ । भविष्यमा यो विस्तार हुन्छ,’ उनले भने, ‘हामी जिम्मेवारीपूर्वक आयौं तर अरू कर्मचारी नआउँदा काममा ढिलाइ हुने भयो ।’ आफूहरू आफ्नो कार्यकालसम्म कर्मचारीलाई पर्खने, नभए विकल्प खोज्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्