Logo
३ आश्विन २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी अवैध विदेशी डाक्टरहरुलाई सात दिन थुन्न म्याद

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले अवैधरुपमा चिकित्सकीय काम गरिरहेका १७ जनालाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थप अनुसन्धान गर्नका लागि सात दिन थुनामा राख्न अनुमति दिएको काठमाडौँ अदालतका स्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँका विभिन्न अस्पतालमा आफूलाई डाक्टर भएको भन्दै अवैधरुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई सोमबार पक्राउ गरेको थियो ।

अवैध १७ डाक्टर ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटललगायतका अस्पतालमा काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।

अवैधरुपमा काम गरेका डाक्टरले नेपाल मेडिकल काउन्सिलको अनुमति नलिइकन काम गर्दै आएका प्रहरीले जनाएको छ । अनुमति नै नलिइ बिरामीको परीक्षण गरेकाले १७ डाक्टरलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न सात दिन म्याद थप गरिएको हो ।

ठमेलस्थित एपोलो इन्टरनेसनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका विदेशीसहित अस्पताल संचालक पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलियन नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेइ सङ, काइ सुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्विन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन् । विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमति लिनुपर्छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्