Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोराको हत्यारालाई कारबाही मागसहित गंगामाया आमरण अनशनमा

काठमाडौँ : १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले सहिद दिवसको अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनशन सुरु गरेकी छन् । लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी उनले छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरिन् ।
अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद हमेसा हुने गर्थे ।

मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो । त्यस बेला गंगामायाको हालत पनि नाजुक थियो । बोल्न नसक्ने उनलाई मानव अधिकारकर्मी र चिकित्सकहरुले जबरजस्ती सुरुमा पानी, फलफूलको रस र झण्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर अनसन तोडाएका थिए ।

गंगामायाको स्वास्थ्य केही दिनदेखि बिग्रँदै गएपछि चिकित्सकहरुले जाँचका लागि रगत लिने प्रयास गरिरहेका थिए। तर उनले आफू अब अनसन सुरु गर्ने निर्णयमा पुगेको भनेर रगत झिक्न नदिएको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए । उनलाई जिउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको एउटा पाटोमा स्पर्शको अनुभव कम हुने समस्या छ ।

अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनसनमा बसेका बेला बितेका नन्दप्रसादको लाश अझै पनि शिक्षण अस्पतालमा राखिएको छ। आफ्नो जेठो छोरा नुरप्रसाद अधिकारी पनि चार वर्षदेखि बेपत्ता भएकाले परिवारमै एक्लो हुनु परेको पीडाले गंगामायालाई बरोबर रुवाइरहन्छ ।

धेरै लामो संघर्षपछि समातिएका अभियुक्तलाई पनि चितवन जिल्ला अदालतले निर्दोष भनेर छाडिदिएपछि त्यस आदेश विरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सँधै पेशी सारिरहने अदालती प्रक्रियाबाट थप विक्षिप्त भएकी छन् । गंगामायाको निवेदनमा सुनुवाइका लागि पछिल्लो पटक फागुन १३ गतेका लागि सर्वोच्चले पेशी तोकेको छ ।

कनकमणी दिक्षित, चरण प्रसाइँ, बाबुराम गिरीलगायत मानवअधिकारकर्मीहरुको ‘गंगामाया बचाऊ’ अभियानले उनलाई कम्तीमा फागुन १३ सम्म अनसन नबसिदिन आग्रह गरेका थिए । उनको स्वास्थ नाजुक अवस्थामा पुगिसकेको भन्दै अभियानका सदस्यहरुले अनसन बसेर थप क्षति हुन नदिन उनलाई मंगलबार अस्पतालै पुगेर सम्झाउँदा पनि गंगामायाले अनसन सुरु भएको जनाउँ दिंदै आँखा चिम्लिएकी थिइन् ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्