Logo
३० कार्तिक २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने हाम्रो उद्देश्य : प्रचण्ड

धनगढी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने उद्देश्यका साथ आफूहरू अगाडि बढेको बताउनुभएको छ । कैलालीको भजनीमा सोमवारदेखि ‘कला, साहित्य, कृषि, शिक्षा र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गीण विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको ‘भजनी महोत्सव’को उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका लागि विभिन्न कार्यदल बनाएर काम अगाडि बढाएका छौँ ।”

अर्काे प्रसङ्गमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको इतिहासमा पहिलो पटक बहुमतको, स्थायी र बलियो सरकार बनाउने सम्भावना पैदा भएको छ भन्नुभयो । उहाँले महोत्सव आयोजकका तर्फबाट पेश गरिएको भजनी क्षेत्रको विकाससम्बन्धी माग पूरा गराउन पहल गरिने आश्वासन दिनुभयो ।

भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जैशीले पृथ्वीपुर छोटी भन्सारको स्तरोन्नति, कान्द्रा, काँडा र मोहना नदी नियन्त्रण, कृषि परियोजना कार्यक्रम लागु, भजनी क्षेत्रका तालतलैयाको व्यवस्थापन, रंगशाला र उद्यान निर्माण, बाढीपीडितको समस्या समाधानलगायत १५ बुँदे मागपत्र सो अवसरमा अध्यक्ष दाहालसमक्ष पेश गर्नुभएको थियो । यही माघ २४ सम्म चल्ने महोत्सवमा कृषि, व्यापार व्यवसायसम्बन्धी ७७ कक्ष छन् । रासस

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्